धर्मले देखाएको समृद्धिको बाटो

२५ कार्तिक २०७५, आईतवार १४:५७

नारद पोखरेल

अहिले जंगलीयुगको व्यवहार देखाउनु असभ्य ठानिन्छ। परिवर्तनको गतिसँगै कयौं चरण पार गर्दै मानिस आजको विकसित रूपमा आइपुगेको हो। त्यसैले देशको नेतृत्व गर्न चाहनेले सत्य अस्वीकार्न मिल्दैन। आजको मानव आत्मप्रशंसामा रमाएर हुँदैन। धर्मको रक्षक बनेर जीवनको सदुपयोग गरिनु श्रेयस्कर हुन्छ। आचरणमा रहँदा आधुनिकताबाट विमुख भइँदैन। तर त्यसो हुन सकेको छैन।

सभ्य बन्ने होडले मूल सभ्यतामा प्रहार हुँदैछ। आर्थिक प्रलोभनमा पारी विवेकशून्य बनाइएको छ। जबर्जस्ती धर्म परिवर्तन गराइएको छ। नयाँ पुस्ता आधुनिकताको नाममा विदेशी संस्कृतिमा रमाउन अभ्यस्त हुँदैछन्। ठूलालाई इज्जत गर्ने, सानालाई माया गर्ने परम्परा बिथोलिएको छ। पूर्वीय सभ्यताबाट आर्जन भएको मूल शिक्षा सत्कर्म गर्नु र कुमार्गमा नलाग्नु भन्ने हो। यथार्थमा कुनै क्षेत्र त्यस मार्गमा हिँडेको पाइँदैन। जालझेल र षड्यन्त्र भित्रिएको छ। सबैको भलो सोच्ने परम्परा थला परेको छ। यस्तो अवस्था निम्तिँदा पनि नागरिक मौन छन्। केले रोक्यो हामीलाई ? वीरता र साहसको इतिहास बिर्सिएकै हो त ? अब तथ्य उजागर हुनु जरुरी छ। हाम्रो धर्म संस्कृतिले आदर्शमय सभ्यतालाई स्थान दिएको छ। न्याय र समानताको चरम लक्ष्य हासिल गर्न मार्ग प्रशस्त गरेको हुन्छ। हामीले इतिहास बिर्सियौं। बालबालिकालाई नैतिक शिक्षा दिन छाड्यौं। बाल्यावस्थामै वीरताको गाथा गाएर उत्साह भर्ने काम हुन्थ्यो, आज विदेशी संस्कृतिमा रमाउने अभ्यास हुँदैछ।

हिन्दु धर्म अथाह ज्ञानको भण्डार हो। समर्पण भावले सिक्ने अभिलाषा हुँदा यसबाट चाहे जति ज्ञान लिन सकिन्छ। संसारका अन्य धर्मभन्दा हाम्रो धर्मको विशिष्ट पहिचान छ। त्यसैले यसलाई ज्ञान र आदर्शको मूल भण्डार मानिएको हो। पूर्वीय मान्यतालाई पन्छाएर अघि बढ्दा आज बालमनोविज्ञानमा नराम्रो प्रभाव परेको छ। उनीहरू अंग्रेजीमा फरर पढ्न सक्छन् तर एकदेखि सय गन्दा अक्मकाउनुपर्छ। नेपाली युवा संसार बुझ्न सक्छन्, देश चिन्न सक्दैनन्। भर्साइल सन्धि कण्ठ छ, सुगौली सन्धि बुझेको हुँदैन। सुट टाईको ज्ञान दिइन्छ, दौरा सुरुवाल धोतीबाट पृथक राखिन्छ। यसरी नेपालीलाई कयौं पुस्तासम्म शिथिल बनाउने रणनीति तयार गरिँदैछ। राष्ट्रको पहिचान समाप्त पार्ने देशीविदेशी स्वार्थमा राजनीतिलाई प्रयोग गरिएको छ। यसलाई सपार्नुपर्छ भन्ने सद्बुद्धि समेत नेताहरूमा पलाउन सकेन।

धर्मले क्षमालाई स्वीकारेको हुन्छ। सही बाटो हिँड्नेलाई मुक्तिको मार्ग देखाउँछ। राजनीति गर्दा जनशक्तिलाई ईश्वरीय शक्ति ठान्न सक्नुपर्छ। नेपाली राजनीतिका पात्रहरूले यस्ता रचनात्मक सुझावलाई पचाउन सक्दैनन्। उनीहरूका अभिमानी नजरले यथार्थ स्वीकानुभन्दा प्रतिगामीको आक्षेप लगाउनु औचित्यपूर्ण देख्छ। प्रसिद्ध अमेरिकी दार्शनिक तथा लेखक इमर्सनले भनेका छन्, ‘तिम्रो हृदयमा जे छ ओठबाट त्यही निस्कनुपर्छ’ हाम्रो हृदयमा अहिले पनि आदर्श जीवित छन्। धर्म, संस्कृतिले देखाएको मार्गमा अघि बढ्न अन्तर्मनले प्रेरणा दिइरहेको छ तर जनस्तरबाट सत्य मुखरित भइरहँदा पनि नेतृत्वपंक्तिले अहिलेसम्म सहजरूपमा लिन चाहेन। नेताहरूलाई विदेशी सभ्यताको पक्षमा ओठ चलाउन वाध्य बनाइएको छ। त्यसैले चाहेर पनि यथार्थ बाहिर आउँदैन। अमेरिकी लेखक इमर्सन थप्छन्, ‘तिमीभित्र थोरै भए पनि महानताको अंश छ भने त्यसैले तिमीलाई सत्तामा पुर्‍याउँछ। तर, तिमी सपना मात्र देख्छौ र देखाउँछौ भने जीवनभर कुनै काम गर्न सक्दैनौ, तिम्रो रक्तिभर इज्जत र आदर्श हुनेछैन।’ नेपाली राजनीतिका पात्रहरूको अहंकारी चरित्रले गर्दा आजसम्म भ्रमपूर्ण सपना मात्र बाँडियो। इमर्सनले भने जस्तै यिनीहरूबाट कुनै चमत्कारी कार्य हुने सम्भावना देखिँदैन। किनकि यिनीहरूमा सत्य र महानताको सानो अंश पनि बाँकी छैन।

साम्यवादीका लागि धर्म अफिम हुन सक्ला ! अहंकारी शासकको लागि सामान्ती अवशेष मानिएला ! यथार्थमा जुन सोच र कर्मबाट प्राणी मात्रको हित हुन्छ त्यो नै धर्म हो। हाम्रो परम्परा र संस्कृतिले अनुशासन सिकाएको छ। असल काम गर्दा जनताको आत्माले सन्तुष्टि प्राप्त गर्छ। गुलाव काँडामा फुल्छ, कमल फोहोरमा फक्रिए पनि तिनको सुन्दरताको महत्व घट्दैन। त्यसैगरी राष्ट्र र जनताको भलो हुन्छ भने संसारका दुई सय करोडभन्दा बढी मानिसको आस्थाको धरोहर हिन्दु धर्मलाई संविधानमा लिपिबद्घ गर्दा लोकतन्त्र नासिँदैन। किनकि हिन्दु संसारलाई चिनाउने नेपालको पहिचान थियो/छ।

युवा शक्तिले राष्ट्रलाई हाँक्ने हुँदा उनीहरूको क्रियाशीलता आवश्यक पर्छ। आज युवालाई निस्क्रिय बनाइएको छ। राष्ट्रको परिचयबाट विमुख पारिएको छ। विश्वविद्यालयमा इतिहास र राजनीतिशास्त्र पढाउन छाडियो, सभ्यता संस्कृति बुझाउन बन्द गरियो। विदेशी षड्यन्त्रको नियोजित आक्रमणबाट हाम्रो शैक्षिक क्षेत्र तहसनहस छ। गुणस्तर उत्पादन हुन सकेको छैन। पढेलेखेका युवा बाक्लो रूपमा विदेशिएका छन्। यो क्रम निरन्तर जारी छ। यता सरकार भने युवा निर्यात गर्ने सम्झौता भयो भनी ठूलो काम गरेको प्रचार गर्छ। देशको सिर्जनशील शक्ति गुमाउनुपरेकोमा रत्तिभर विस्मात छैन। सरकारले योग्यता क्षमताको मात्र कदर हुने विश्वास दिनसके विदेसिने क्रम केही मात्रामा भए पनि रोकिन्थो कि ?

राम्रो काम गर्नेलाई नागरिकले देवतासमान पुज्नेछन्। जनता खुसी पार्न जनभावनाअनुरूप काम हुनुपर्छ। जनचाहना समेट्दै अघि बढ्दा ईश्वरीय शक्ति प्राप्त हुन्छ। त्यही शक्तिलाई राजनीति गर्नेले राष्ट्रको भलोमा लगाउनुपर्छ। मानिस सर्व श्रेष्ठ प्राणी हो। यो श्रेष्ठ जुनीलाई निहित स्वार्थ खातिर विदेशीको चरणमा सुम्पिनु अधर्म हो। आसेपासे र षड्यन्त्रकारीको हितमा लाग्दा जनताप्रति घात गरेको ठहर्छ। त्यसैले महाभारतकालमा भगवान श्रीकृष्णको मुखबाट प्रकट वाणीको अध्ययन गरौं। जसले जानीनजानी खराब परिपाटीमा बहकिएको राजनीतिलाई सही मार्गमा हिँडाउन मद्दत गर्नेछ। जसरी प्राणबिना मानिसको अर्थ रहँदैन, त्यसरी नै धर्म–संस्कृति बलियो नभए राष्ट्र सबल बन्दैन। युवामा मुलुकको भविष्य सुरक्षित हुने हुँदा उनीहरूले हाम्रा धार्मिक मूल्यमान्यतामा आधारित ज्ञान र सीपबाट जागरुक बन्नुपर्ने खाँचो छ।

साभार : अन्नपूर्ण पोष्टबाट

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*