सर्लाहीमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

२२ असार २०७६, आईतवार २०:३३

राजु तामाङ, सर्लाही:- जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा बन्चरो प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।। ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको हत्या भएको हो।

शनिबार राती कै घटना भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आईतबार मात्र जानकारी पाएको हो।
लामीदमारका स्थानीयवासीले आईतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको थियो। उक्त वडाका वडाध्यक्ष नागेन्द्र पाख्रीनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ।

मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउँन छ घण्टा भन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए।

घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भईरहने गरेको स्थानीयले बताएका छन्।

केशरगञ्ज प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गौरब महतको कमाण्डबाट गएको टोलीले घटनास्थलबाट १ थान बन्चरो बरामद गर्नुुका साथै मृतक डम्बरकी श्रीमती ५७ वर्षिया सोनमाया नेपालीलाई हत्याको आशंकामा अनुसन्धान गर्दा सोनमायाले श्रीमान्लाई बन्चरो प्रहार गरी हत्या गरेको भनी स्वीकारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*