चीनमा आँधीः ६ जनाको मृत्यु, १९० बढी घाईते

१९ असार २०७६, बिहीबार १९:००

एजेन्सी

चीनको उत्तरपूर्वी राज्यको लियोनिङ प्रान्तमा बुधवार आएको आँधीमा कम्त्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीले गर्दा बिहीवार सम्म १ सय ९० बढी घाईते हुनुका साथै १० हजार जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् ।

प्रकोपमा परी अरु ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन् । भत्किएका घरबाट झण्डै २१० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ । उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ ।
स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन् । घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

उद्धारकर्मी विभिन्न दश ओटा समूह बनाएर खटिएको र उनीहरुले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन् ।

धेरै ठाउँमा अझै पनि सडक, विद्युतलगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन् । आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कारखाना भवन क्षतीग्रस्त भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*