औषधि प्रयोग नगरी डिप्रेसनको उपचार

१९ असार २०७६, बिहीबार ०८:४६

डा. कपिलदेव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

डिप्रेसन मनको रोग हो। डिप्रेसनमा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा पनि चाख लाग्दैन र जीउ गल्ने वा थकाइ लाग्ने हुन्छ। यी लक्षणहरुका साथै भोक र निद्रा नलाग्ने, झिँजो लाग्ने, रिस उठ्ने, रुन आउने र छटपटी हुने हुन्छ।

कहिलेकाहीँ वा एक–दुई दिन मुड बिग्रने वा दिक्क लाग्ने जसलाई पनि हुन सक्छ। यस्तो अवस्था डिप्रेसन भने होइन। दुई हप्ता वा दुई हप्ताभन्दा बढी समयसम्म मन निराश हुने, दिक्क लाग्ने, शरीर गल्ने आदि भइराख्यो भने डिप्रेसन भएको हुन सक्छ।

डिप्रेसन मनको रोग भएकाले विशेषज्ञ चिकित्सककहाँ जँचाउन जानु प¥यो भने मानसिक रोग विशेषज्ञ (साइकियाट्रिस्ट) कहाँजानु पर्ने हुन्छ र धेरै बिरामीहरु साइकियाट्रिस्टकहाँ जँचाउन जाने भनेपछि अप्ठेरो मान्नु हुने रहेछ। डिप्रेसनको उपचार गर्ने क्रममा जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। के कस्तो जीवनशैली अपनाउँदा डिप्रेसन ठीक हुन्छ वा डिप्रेसन रोग लाग्न दिँदैन भन्नेबारे यहाँ चर्चा गरिएको छ।

केही रोगहरु जस्तै डिप्रेसन, मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि शहरमा बस्ने, शारीरिक परिश्रम नगर्ने बानी केही कम गर्ने, खानपिनमा लापरवाही गर्ने, टेलिभिजन, कम्प्युटर, मोबाइलफोन आदिमा बढी समय बिताउने, घरमा एक्लै समय बिताउने र धेरै मानसिक तनावका कारण हुने गरेको भनाइ छ। यिनै डिप्रेसन निम्त्याउने कारणहरुबाट बच्ने तरिकाहरु अपनाउँदा डिप्रेसन रोग लाग्नबाट बच्न सकिन्छ वा रोग लागिसकेको भए रोग नियन्त्रण गर्न सकिन्छ। कडा खालको डिप्रेसन भएको छ भने औषधीको प्रयोग पनि गर्नु पर्ने हुनसक्छ।

डिप्रेसन किन हुन्छ? किन बढ्दै छ? यसबारे पश्चिमी देशहरुमा धेरै अनुसन्धान भइरहेका छन्। हालै प्राध्यापक एडवार्ड वुलमोर जो मानसिक रोग विशेषज्ञ हुन्, उनले आफ्नो पुस्तक ‘द इन्फ्लेम्ड माइन्ड’मा लेखेका छन्, ‘दीर्घ रोगहरु जस्तै बाथ, सोरायसिस, पेट र आन्द्राका रोगहरु (इन्फ्लेमेटरी बोवेल डिजिज) र अटोइम्युन रोगहरु (अटो इम्युन डिजिज्) मा डिप्रेसन बढी देखिन्छ। त्यस्तै धेरै मोटोपना, महिलाहरुमा महिनाबारी सुकेपछि, परिवारजनको मृत्यु, बाल्यवस्थामा भोगेका दुःखदायी अप्रिय घटना, शारीरिक चोटपटकहरु र जाडोयाममा सूर्यको प्रकाश र तापको कमीले डिप्रेसन निम्त्याउँछन्। लगातारको तनाव (क्रोनिक स्टे«स) जुन अहिलेको जीवनशैलीले समाजमा बढ्दै छ, त्यसले डिप्रेसन बढाउँदैछ।

वंशाणुगत कारणले हुने डिप्रेसनमा जीन्स कम्तीमा पनि ४४ वटा भेटिएका छन्, जसले डिप्रेसन गराउँछन भन्ने छ।

डिप्रेसनको उपचार गर्न बजारमा उपलब्ध औषधीहरु त धेरै छन् तर ती औषधी सेवन गर्दा फाइदा हुनुको सट्टा झन् असजिलो भयो भने औषधीले शायद फाइदा गर्दैन भन्ने अनुमान लगाउन सकिन्छ। त्यस्तो अवस्थामा यहाँ दिइएका तरिकाहरु अपनाउन र अभ्यास गर्न सक्नु हुन्छ।

प्राकृतिक तरिकाहरुः
(१) शारीरिक व्यायामः शारीरिक व्यायाम ज्यादै राम्रो प्राकृतिक औषधी हो र रोगहरुबाट बच्ने उपाय पनि हो। व्यायाम गर्दा मुटु बलियो हुन्छ र मुटु बलियो हुँदा शरीरका सबै अङ्गमा रगतको प्रवाह राम्रो हुन्छ। अक्सिजन र खानेकुराबाट प्राप्त पोषण तŒवहरु मस्तिष्कलगायत सारा शरीरमा राम्रोसँग पुग्छ। मस्तिष्कका कोषहरुले राम्रोसँग काम गर्छन्। सम्झना शक्ति पनि राम्रो हुन्छ। मानसिक तनाव छ भने घट्छ। व्यायाम गरेपछि शरीरमा स्फूर्ति बढ्छ र मनमा आनन्द आउँछ। शारीरिक व्यायाम नियमित गर्दा डिप्रेसनमा दिइने औषधीले जस्तै काम गर्छन् भन्ने केही अध्ययनहरुले देखाएका छन्।

नियमित शारीरिक व्यायामले मधुमेहजस्ता रोगबाट बच्न, उच्च रक्तचाप नियन्त्रण गर्न, वजन घटाउन, मस्तिष्कलाई तन्दुरुस्त राख्न, सम्झना शक्ति घट्न नदिन, मांसपेशी र हड्डीलाई बलियो राख्न फाइदा पु-याउँछ भन्ने कुरा प्रायः सबैलाई थाहा नै छ। नियमित शारीरिक व्यायाम गरेर स्वस्थ्य रहन भने ठूलै अठोट चाहिन्छ।

(२)ध्यानः हिजोआज ध्यानबारे निकै चर्चा चल्ने गरेको छ। धेरैलाई यसबारे केही न केही थाहा पनि छ। नियमित ध्यान गर्नाले मानसिक तनाव घटाउँछ र धेरै रोगहरुबाट बच्न सहयोग गर्छ भन्ने निश्चित प्रायः छ। मानसिक तनाव नै धेरै रोगको जड हो र तनावको उचित व्यवस्थापन गर्नु भनेकै रोगहरुबाट बच्नु हो भने ‘ध्यान’ मानसिक तनावको व्यवस्थापन गर्ने धेरै राम्रो तरिका हो।

सकभर ध्यान गर्ने तरिका राम्रो गरी सिकेर गर्नु उत्तम हुन्छ। त्यसरी सिक्ने अवसर नपाउँदासम्म ढाड सिधा गरेर भुइँमा बस्ने, आँखा चिम्म गर्ने र १५/२० मिनेट जति बिस्तारै लामो श्वास लिने र छोड्नेमा आफ्नो मनलाई लगाउनुहोस्। दैनिक यति मात्र गर्नु भयो भने पनि तपाईंलाई धेरै फाइदा हुनेछ।

(३) श्री श्री रविशंकरजीको सुदर्शन क्रिया सिकेर दिनहुँ यो गर्दा धेरै डिप्रेसन र चिन्ता रोगका बिरामीहरु निको भएको भारतको वैंगलोरमा गरिएको अध्ययनले देखाएको छ। सुदर्शन क्रियाले रोग निको पार्न र पछि रोग पुनः बल्झिन नदिन पनि मद्दत पु-याउँछ। नेपालका विभिन्न केन्द्रहरुमा सुदर्शन क्रिया सिक्न सकिन्छ।

(४) शरीरलाई आराम र निद्राको आवश्यकता हुन्छ। यसप्रति ध्यान दिनुस्। सुत्नुभन्दा आधा घण्टाअघि एक गिलास मनतातो दुध पिउने गर्दा निद्रा राम्रो लाग्छ।

(५) आफूलाई मनपर्ने संगीत दिनको आधा घण्टा जति सुन्ने गर्नुस्, शास्त्रीय संगीत अझ राम्रो मानिन्छ। नियमित संगीत सुन्दा मनलाई शान्त पार्न, रिल्याक्स गर्न र डिप्रेसन घटाउन सहयोग गर्छ।

(६) प्रकृतिको नजिक ताजा हावा भएको ठाउँमा बेलाबेलामा गएर समय बिताउनुस्। ताजा हावा धेरै हितकारी छ भने प्रकृतिले तपाईंलाई नयाँ ऊर्जा दिलाउँछ।

(७) डिप्रेसनका बिरामीहरुले ओमेगा–३ फ्याट्टी एसिड भएको खाना खाँदा फाइदा हुन्छ। माछा, फिस आयलको क्याप्सुलमा पनि यो पाइन्छ। शाकाहारीले फ्लाक्सिड आयलको क्याप्सुल खान सक्नुहुन्छ। ओखर, बदाम र भटमासमा पाइने चिल्लो पदार्थ पनि राम्रो मानिन्छ।

(८) आस्था छ, विश्वास छ र मन आनन्द हुन्छ भने आस्थाअनुसार पूजा वा प्रार्थना गर्न सक्नु हुन्छ। भनिन्छ, प्रार्थनामा शक्ति छ। मानसिक तनाव घटाउन प्रार्थना र पूजाले सहयोगी भूमिका खेल्छन्।

(९) खाना मीठो लाग्दैन भने पनि शरीर स्वस्थ राख्नका लागि खाने गर्नुस्।

(१०) आफ्नो मनमा आएका कुराहरु आफ्नो नजिकका, विश्वासिला व्यक्तिसँग सुनाउने गर्नुस्। यसो गर्दा मन हलुको हुनेछ। त्यो सम्भव छैन भने आफ्ना भावनाहरु एउटा डायरीमा लेख्ने गर्नुस्। प्रत्येक दिन २० मिनट यसको लागि समय दिनुस्।

(११) घरभित्र एक्लै टोलाएर, रोएर, कुरा खेलाएर बस्ने नगर्नुस। घरबाट बाहिर निस्कनुस्। साथीभाइलाई भेट्नुस्, वा फोन गरेर भए पनि कुरा गर्नुस्। घरमा तरकारीबारी, फूलहरु फुलाउनुस् वा तिनलाई स्याहार गर्नुस्।

(१२) रक्सी पिएर मन शान्त पार्ने प्रयास नगर्नुस्। रक्सीजन्य पदार्थले डिप्रेसनलाई झन् बढाउँछ।

(१३) सक्नुहुन्छ भने हप्ताको एक पटक भए पनि कुनै सामजिक सेवामा लाग्नुस्।

(१४) नकारात्मक सोचाइहरु धेरै आउँछन् भने तिनलाई बदलेर सकारात्मक बनाउनुस् र यसका लागि कुनै साइकोलोजिस्ट वा काउन्सिलरको सहयोग लिनुहोस्।

(१५) तपाईंले आफूले जे काम गरिराख्नु भएको छ, त्यसमा पूरा ध्यान दिनुहोस्/अर्थात् हात धुँदा साबुन लगाएको साबुनको चिप्लोपना, बास्ना र हात पखाल्दा पानी हातमा पर्दाको अनुभवमा ध्यान दिनुस्, हिँड्दा प्रत्येक पाइलामा ध्यान दिनुस्, त्यस्तै उठ्दा, बस्दा, सिँढी चढ्दा, ओर्लंदा त्यसमै ध्यान केन्द्रित गर्नुस्।

साभार: नागरिक


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*