मोदीले जे गरेका छन् त्यसको मूल्य भारतको एउटा पिढीले चुकाउनुपर्छ : आशीष नन्दी

१५ असार २०७६, आईतवार ०८:३६

photo : caravanmagazine.in

आशीष नन्दी चर्चित भारतीय राजनीतिक मनोविश्लेषक हुन् ।उनले युरोपेलीऔपनिवेशिकता,विकास,आधुनिकता,धर्म निरपेक्षता,हिन्दूत्व,विज्ञान,प्रविधि,सहरीकरण रआदर्शजस्ता थुप्रै विषयमा सैद्धान्तिक समालोचना प्रस्तुत गरेका छन्  यी वृहद प्राज्ञिककर्मको कारण नन्दी सन् २००८ को‘फरेन पोलिसी’म्यागजिनको‘विश्वका १०० सार्वजनिकबौद्धिक’को सूचिमा परेका थिए  नन्दीसँग दिल्ली निवासी पत्रकार एजाज अशरफलेवर्तमान भारतीय राजनीतिबारेमा लामो सम्वाद गरेका छन्  भारतीय म्यागजिन कारवांमाप्रकाशित उक्त अन्तरवार्ताको अनुवाद यहाँ प्रस्तुत गरिएको 

एजाज अशरफ : तपाईंं एक राजनीतिक मनोविश्लेषक हुनुहुन्छ । तपाईंले सन् २०१९ को लोकसभा चुनावमा भाजपाले हासिल गरेको यति ठूलो जितलाई कसरी लिनु भएको छ ?

आशीष नन्दीः विगत पाँच वर्षमा यिनले जुन खालको काम गरेका थिए, त्यस आधारमा भाजपाले यति ठूलो जीत हासिल गर्ला भन्ने मलाई आशा थिएन । यिनले आक्रमक शैलीमा प्रचार अभियान चलाए । त्यही आधारमा अहिलेको जित हासिल गरे । विगत पाँच वर्षमा यिनको आँखा चुनावमा मात्र थियो र सारा काम यसैलाई ध्यानमा राखेर गरियो । यही कारणबाट तिनसँग अरु काम गर्ने समय नै थिएन । अनि भाजपाको चुनावी अभियानको एक महत्त्वपूर्ण हिस्सा मोदीलाई भारतको उद्दारक देखाउनु पनि थियो ।

एजाज अशरफ : यस जीतलाई हामीले बदलिँदै गएको भारतको छायाँको रुपमा हेर्न सक्छौं ?

आशीष नन्दी : भाजपाको चुनाव प्रचार र उसको जीत हिन्दूत्व विचारक विनायक दामोदर सावरकरबाट उधारो लिइएको राज्यको सिद्धान्तमा आधारित छ । यो सिद्धान्त राष्ट्रिय स्वयंसेवक संघको सोचमा लामो समय हावी रह्यो ।

भाजपाको चुनावी अभियानको एक महत्त्वपूर्ण हिस्सा मोदीलाई भारतको उद्दारक देखाउनु पनि थियो । 

एजाज अशरफः सावरकरको राज्यको अवधारणा के थियो ?

आशीष नन्दी : सावरकरको राज्यको कल्पना अत्यन्त मर्दवादी थियो । राष्ट्रवादसहित सम्पूर्ण चिज यो मर्दवादी राज्यअन्तरगत आउँछ । तपाईं यसलाई राज्यवाद भन्न सक्नुहुन्छ । यसको अर्थ तपाईं र मेरो जीवनमा राज्यको भूमिका केन्द्रीय हुन्छ भन्ने हो ।

एजाज अशरफ : मर्दवादी राज्यको लक्षण वा चरित्र के हो ?

आशीष नन्दी : साहसको पौरुषीकरण, अधिकारको पौरुषीकरण र राष्ट्रको पहिचानको पौरुषीकरण गर्नु मर्दवाद हो । भाजपाको कुरा गर्ने हो भने यसले कयैन पद यसैको सेरोफेरोमा निर्माण गरेको छ । सन् २०१९ को चुनावी परिणामबाट भारतको एउटा ठूलो हिस्सामा मर्दवादी विचार हावी भएको देखिएको छ । ती राष्ट्रवाद र देशप्रेम तथा हिन्दू राष्ट्रवाद र राष्ट्रवादबीचमा रहेको भिन्नतामा अन्जान छन् । 

एजाज अशरफः तपाईंले देशप्रेम र राष्ट्रवादको अन्तरबारे धेरै लेख्नु भएको छ । हामीलाई यिनमा रहेको फरकबारे बताइदिनुस् न ?

आशीष नन्दी : देशप्रेमको मतलब प्रादेशिकता वा क्षेत्रियता हो जुन मानव जातिको नैसर्गिक गुण हो । यस खालको प्रादेशिकता सबै जीवमा पाइन्छ, कतिसम्म भने कुकुर र विरालोमा पनि यो गुण हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशप्रेम मानवजातिको लागि प्राकृतिक कुरा हो । तर राज्यवादको विचारले देशप्रेमलाई पर्याप्त मान्दैन ।

एजाज अशरफः के यसको सम्बन्ध ‘नेशन–स्टेट (राज्य)’ को विकासक्रमसँग जोडिएको छ ?

आशीष नन्दी : युरोपमा राजतन्त्र अन्त्य भएपछि नेशन–स्टेटको प्रादुर्भाव भयो । राजासँग दैवीय अधिकार हुन्थ्यो । जबकि सभ्रान्त(एलीट) वर्गनै त्यसमा विश्वास गर्दैनथे । तर राजा राज्यमा बसोबास गर्ने विभिन्न समुदायलाई एक साथ जोडेर राख्न प्रतीक हुन्छ भन्ने कुरामा चाहिँ तिनीहरु विश्वास गर्थे र त्यही कारण तिनले राजालाई समर्थन गर्थे । सम्भ्रान्तलाई के डर थियो भने राजतन्त्र रहेन भने युरोपका सर्वसाधारण जनता राज्यप्रति इमान्दार रहने छैनन् । विभिन्न समुदायलाई जोडेर राख्नको लागि युरोपेली समाजमा राष्ट्रवादको प्रचार गरिएको थियो ।

सन् २०१९ को चुनावी परिणामबाट भारतको एउटा ठूलो हिस्सामा मर्दवादी विचार हावी भएको देखिएको छ । ती राष्ट्रवाद र देशप्रेम तथा हिन्दू राष्ट्रवाद र राष्ट्रवादबीचमा रहेको भिन्नतामा अन्जान छन् ।  

तर ती दिनका युरोपेली सभ्रान्त स्वयं भने राष्ट्रवादी थिएनन् । राज परिवारको विवाह आम मानिससँग हुँदैन थियो, त्यसैले तिनले अर्को राष्ट्रका राजघरानासँग विवाह गर्थे । जसले अर्को राष्ट्रको राजघरानासँग विवाह गरे, तिनले सो राष्ट्रको राष्ट्रियता ग्रहण गर्थे ।

तर, नयाँ अवस्थामा आम जनताको लागि राज्य एउटा नयाँ ईश्वर बनेर आयो । यसको अर्थ होः राष्ट्र, राष्ट्रवाद र राज्य एकसाथ घटित हुने परिघटनाहरु हुन् । ठीक यही खालको प्रचार आज भारतमा भइरहेको छ ।

एजाज अशरफः भारतमा राष्ट्रवादी प्रचार किन यति हावी भइरहेको छ ?

आशीष नन्दीः मानिसले देशप्रेम र राष्ट्रवादबीचको विभाजन रेखा धमिल्याउँदै लगेकाले राष्ट्रवादी प्रचार हावी भएको हो । हरेक भारतीय जन्मदेखि नै देशप्रेमी हुन्छन् । यसको विपरीत राष्ट्रवाद राज्यप्रति ‘बनिबनाउ (निर्मित)’ निष्ठाको भाव हो । अधिकांश मानिस राष्ट्रवाद र देशप्रेमबीच फरक छुट्टाउन सक्दैनन् । भारतमा यी दुई शब्द एकै अर्थमा प्रयोग गरिन्छ । भाजपाले लामो समयदेखि देशद्रोहको कुरा गर्दै आएको छ । यस पछाडि पनि उसको लक्ष्य राष्ट्रवाद र देशप्रेमबीचको अन्तर मेटाउनु हो ।

एजाज अशरफः यसको पछाडि भाजपाको मनसाय के हो ?

आशीष नन्दीः यस पछाडि सबै विपक्षीलाई राष्ट्रद्रोही देखाउनु हो । 

एजाज अशरफः यस अन्तर मेटाउनका लागि भाजपाले गरिरहेको प्रयासले मानिसमा के असर गरेको छ ?

आशीष नन्दीः भारतीय जनता आफ्नो स्वतन्त्रता, भारतीयता (भारतीय हुनुको भाव) र ‘नेशन–स्टेट’लाई सम्मान गर्छन् । तर यसबारेमा भाजपाको विचार निक्कै फरक खालको छ । मानिसलाई टिभीमार्फत् एकतर्फी कुरा थोपरिएको छ, जसले गर्दा तिनले भारतको बदलिँदो राजनीतिलाई बुझ्न सकिरहेका छैनन् । भारतीय समाजमा अहिले टीभीप्रति बलियो विश्वास छ, यस्तो विश्वास ५० वर्ष अघि अमेरिकामा थियो । जनतामा आलोचनात्मक दृष्टि उत्पन्न भएको छैन अथवा उत्पन्न हुन दिइएको छैन ।

एजाज अशरफ : पञ्जाब र कश्मीरमा जुन खालको आक्रमक (पृथकतावादी) आन्दोलन चल्यो, त्यसमार्फत् उत्पन्न भएको डरको कारण आम भारतीय जनता भाजपाका पछाडि लागिरहेका त होइनन् ?

आशीष नन्दी : मेरो विश्वासमा हिंस्रक आन्दोलनभन्दा पनि जनतामा हरेक किसिमको हिंसाबाट छटपटीमा छन् ।

मानिसलाई टिभीमार्फत् एकतर्फी कुरा थोपरिएको छ, जसले गर्दा तिनले भारतको बदलिँदो राजनीतिलाई बुझ्न सकिरहेका छैनन् । 

एजाज अशरफः तर हिंसाले बेचैन बनाएको त हो नि ?

आशीष नन्दीः सही हो । यो छटपटीको कारण मानिसलाई के परेको छ भने एउटा केन्द्रीकृत राज्य भएमा शान्तिव्यवस्था कायम हुनेछ । ब्रिटिश शासनअन्तर्गतका भारतीयको पहिलो पीढी पनि यही सोच राख्थ्यो । बंगालको उप–मजिस्ट्रेट समेत रहेका बंकिमचन्द्र चट्टोपाध्यायले आफ्नो लेखनमा के विश्वास व्यक्त गरेका छन् भने, ‘मुगलको शासनको अन्तिमतिर समाजमा व्याप्त आराजकताको समाधान ब्रिटिश शासन हो’ । यो त्यो समय थियो जब मराठा शक्तिशाली थिए । ती लुटपाटमा लागेका थिए । कतिसम्म भने सन् १८५७ मा ब्रिटिशविरुद्ध भएको सैनिक विद्रोहमा ब्रिटिश सत्ताले जितोस् भनेर कोलकातामा पूजा गरिएको थियो ।

एजाज अशरफ : के सन् २०१९ को चुनावी परिणामलाई हिंसा र असुरक्षाको प्रतिक्रियाको रुपमा बुझ्नु ठीक हुन्छ ?

आशीष नन्दीः सन् २०१९ को चुनावी परिणाम आरएसएसद्वारा सावरकरको विचारधारालाई आक्रमकता साथ फैलाएको परिणाम हो । उनी भारतमा पनि युरोपजस्तो ‘नेशन–स्टेट’ चाहन्थे । सावरकरले स्पष्ट रुपमा भनेका थिए कि ‘हिन्दूत्व’को मतलब हिन्दू धर्म होइन । तर चुनावको लागि यस अन्तर समेत मेटिएको छ । सावरकर नास्तिक थिए । उनले आफ्नो पत्नीको मृत्युपछि अन्तिम सस्कार पनि गरेनन् । यहाँसम्म कि उनको इच्छा अनुरुप उनी स्वयमको अन्तिम संस्कार धार्मिक रुपमा भएन ।

‘भारतको प्रधानमन्त्रीको रुपमा मोदीको पहिलो पाँच वर्षमा उनले गुजरातमा अवलम्बन गरेको भनिएको विकास मोडल बाँकी देशमा फैलिन सकेन तर घृणाको गुजराती मोडल पछिल्लो पाँच वर्षमा सम्पूर्ण भारतभरी फैलिएको छ ।’

केही वर्ष पहिले ‘सेन्टर फर स्टडी अफ द स्टडी अफ डेवलपिंग सोसाइटीज’ले एक सर्वेक्षण गरेको थियो । त्यसमा मैले पहिलो पटक सावरकरको विचार सफल हँुदै गएको संकेत पाएको थिएँ । त्यस सर्वेक्षण अनुसार, भारतका तमाम राज्यमा हिन्दू धर्मले पाइरहेको समर्थनको हिन्दूत्वले पाइरहेको समर्थनसँग कुनै सम्बन्ध थिएन । त्यसको अपवाद गुजरात मात्र थियो । 

अर्थशास्त्री प्रणव बर्धनले यसलाई सुन्दरताका साथ बयान गरेका छन् । उनले भनेका छन् कि ‘भारतको प्रधानमन्त्रीको रुपमा मोदीको पहिलो पाँच वर्षमा उनले गुजरातमा अवलम्बन गरेको भनिएको विकास मोडल बाँकी देशमा फैलिन सकेन तर घृणाको गुजराती मोडल पछिल्लो पाँच वर्षमा सम्पूर्ण भारतभरी फैलिएको छ ।’

एजाज अशरफः के हामी गुजरातको अनुभवबाट भारतलाई बुझ्न सक्छौं ?

आशीष नन्दी : सन् १९६१ मा म पहिलो पटक मनोविश्लेषण क्लिनिक खोल्नको लागि म गुजरात गएको थिएँ । त्यो समय मैले देखेअनुसार त्यहाँ गुजराती मुसलमान समुदायलाई अलग समुदाय मानिँदैन थियो । त्यहाँ मुसलमानको कुरा गर्दा तिनको दिमागमा उत्तर प्रदेश र बिहारबाट कपडा मिलमा काम गर्न आउने मुसलमान हुन्थे । जब म त्यहीँको मुसलमानको कुरा गर्थे गुजरातीहरु ती मुसलमानभन्दा पनि मेमोन र बोहरा हुन् भन्थे । ती दिन गुजरातीहरु मुसलमानलाई तिनको धर्मबाट नभएर तिनको पन्थबाट चिन्थे । तर आज त्यहाँ मुसलमानको अलग पहिचान बनेको छ । 

धेरै लामो समयसम्म मलाई जाति हिन्दूत्वको जवाफ हो भन्ने लागिरह्यो । तर त्यतो भएन ।

एजाज अशरफः यसबाट भारतीयको मनोविज्ञानमा आधारभूत परिवर्तन आइसकेको त देखिदैन ?

आशीष नन्दीः हो, परिवर्तन निश्चित रुपमा आएको छ तर तपाईं त्यसलाई आधारभूत परिवर्तन भन्न सक्नुहुँदैन । एउटा परिवर्तन यो आएको छ कि देशप्रेम र राष्ट्रवादबीच रहेको फरक मेटिएको छ । अर्को परिवर्तन के छ भने मानिसहरु हिंसाग्रस्त समाजमा सन्तुलन कायम गर्नको लागि एउटा बलियो केन्द्रीकृत राज्यको आवश्यकता हुन्छ मान्न थालेका छन् । यो विचार अहिले झनै बढिरहेको छ । त्यस्तै ठूलो संख्यामा मानिसहरु विस्थापन हुनु परिरहेको छ । यो विस्थापन विकास परियोजनाके कारण भइरहेको छ । हामीलाई अहिले बनिरहेका यतिधेरै ठूल–ठूला बाँधको आवश्यकता थियो ?

एजाज अशरफः त्यसो भए के एलिट वर्गले तल्लो तहमा उत्पन्न हुने दबावमाथि नियन्त्रित कायम गर्नको लागि बलियो राज्यको विकल्प रोजेका हुन् ?

आशीष नन्दीः व्यावसायिक एलीटले विकासको आफ्नो मोडेलको लागि बलियो राज्यको विकल्प रोजेका हुन् । मध्यम वर्गको ठूलो हिस्साले यस विचारलाई स्वीकार गरेको छ । यस मोडलमा अन्तरनिहित खतरा छ । मेरो किताब ‘द इलिजिटिमेसी अफ नेशनलिज्मः रविन्द्रनाथ टैगोर एण्ड पोलिटिक्स अफ सेल्फ’ चीनमा तेस्रो पटक अनुवाद भएको छ । यस पटक पीपल्स पब्लिसिंग हाउसले यसको अनुवाद गरेको छ अर्थात यो राज्य प्रायोजित अनुवाद हो । मेरो विचारमा चीनको सभ्रान्त वर्ग आफैले फैलाएको राष्ट्रवादबाट भयभित बनेको छ । तिनले राष्ट्रवादबाट फाइदा हुन्छ भन्ने मान्न छाडेका छन् । किनकि उनीहरु आफै यसको शिकार बन्ने अवस्थामा छन् । चिनियाँ जनता सैन्य शक्तिको बलमा चीनले दक्षिण चीन सागरलाई कब्जा गरोस् भन्ने चाहना व्यक्त गर्न थालेका छन् । 

राष्ट्रवादलाई अनियन्त्रित छोडिदिने हो भने सन् १९३० को दशकमा युरोपमा देखिएको अवस्था आउन सहज हुन्छ । ठूलो मारकाट हुनु पहिले त्यहाँ न्यायापालिका र शिक्षा व्यवस्थालाई नियन्त्रित र कमजोर गरिएको थियो । यसपछि किताब जलाइने जस्ता घटना बाहिर आउन थाल्यो ।

एजाज अशरफः आज जुन खालको स्थिति भारतमा छ, तपाईंं त्यसबाट चिन्तित हुनुहुन्छ ?

आशीष नन्दीः निश्चित रुपमा त्यो कुरा हो । भिडले गरिने हत्यामा भारत संसारमै सबैभन्दा अगाडि छ । सन् १९५० सम्म यसमा अमेरिका अगाडि थियो ।

गान्धीको हार भएको छैन भन्ने मेरो धारणा छ । तर नेहरुबारेमा म त्यति  विश्वासका साथ भन्न सक्दिनँ । किनकि उनले गान्धीको विचारलाई हारेको सम्भयताको रुमानी सपना भनेर खारेज गरिदिएका थिए । (त्यो भनेको गान्धीको स्वायत्त ग्रामीण अर्थव्यवस्थाको विचार) । नेहरुको प्रगतिवादी विचार आज सम्पूर्ण भारतीय जनता पछ्याउछन् । तर समानताको कुरा नभएको नेहरुको आर्थिक कार्यक्रम त अहिले भाजपाको कार्यक्रममा पनि छँदैन ।

एजाज अशरफः यो सबमा सरकारको समर्थन छ भन्ने आशंकामा तपाईंको चिन्ता झन बढेको हो ?

आशीष नन्दीः हो, पाकिस्तानमा पनि यस्तै छ ।

एजाज अशरफः के भारत पनि पाकिस्तान जस्तै बनिरहेको छ ?

आशीष नन्दी : हामी पाकिस्तानजस्तै हुन लागेको हौं । भारतको सेना पाकिस्तानको सेनाजस्तै राज्यको भाषा बोलिरहेको छ । न्यायापालिकाको अधिकाशं तल्लो हिस्सा यही गरिरहेको छ भन्ने मलाई आशंका छ ।

यसलाई बुझ्नको लागि भाजपा–आरएसएसले यी संस्थामा आफ्ना मानिस पसाइरहेका यथार्थमा ध्यान दिनुपर्छ । भाजपा अर्को पटकको चुनाव वा सन् २०२९ को चुनाव हार्यो भने पनि यस्ता मानिस संस्थामा कायम रहनेछन् ।

मोदी सरकारले जे गरेको छ त्यसको मुल्य भारतको एउटा पीढीले चुकाउनुपर्छ । युरोपको नेशन–स्टेटसँग कयैन कमजोरी जोडिएका छन्, तर हामी त्यस्तै नेशन–स्टेट बन्दै गइरहेका छौं । भारत विविधतायुक्त समाज हो र आरएसएस–भाजपाका मानिसलाई यस विविधतासँग डर लाग्छ ।

एजाज अशरफः विविधतासँग राष्ट्रिय स्वयमसेवक संघको यति ठूलो डर किन ?

आशीष नन्दीः तिनको डरबाट नै हामीलाई थाहा हुन्छ कि ती न हिन्दू हुन् न भारतीय । उसले नेशन–स्टेटको आफ्नो मोडेललाई युरोपबाट जस्ताको तस्तै चोरेको हो । यही सावरकर चाहन्थे ।

एजाज अशरफः सन् २०१९ मा भाजपाको जीतको श्रेय मोदीलाई दिइएको छ । उनको व्यक्तित्वको त्यो खास चीज के हो जसले मानिसलाई आकर्षित गर्छ ? उनको आक्रमकताले बदलिँदों भारतीय मनोविज्ञानलाई आकर्षित गरेको त होइन ?

आशीष नन्दीः यो सही हो । मानिसलाई गरीब परिवारबाट उठेर सफल हुनेहरुको कथाले आकर्षित गर्छ । मानिसलाई के लागेको छ भने प्रधानमन्त्री मोदीले कुनै गलती गरेका भए पनि तिनले लामो समय उनलाई झेलिरहे भने तिनलाई लाभ प्राप्त हुनेछ । यो भाष्यलाई गहिरो गरी जरा बसाउनमा मिडियाको पनि ठूलो भूमिका छ । यही कारण यस चुनावलाई राष्ट्रपति चुनाव जस्तो व्यक्तिकेन्द्रीत चुनाव बनाइयो ।

एजाज अशरफः के प्रेमको भाषा मानिस मन पराउदैनन् ?

आशीष नन्दीः हामीले यो भुल्नु हँुदैन कि हामीमाझ यस्ता ठूला व्यक्तित्व छैनन् जसले प्रेमको भाषालाई विश्वसनीय बनाउन सकेको छ । जय प्रकाश नारायणले यसको प्रयास गरेका थिए र उनी सफल रहे । जो व्यक्ति प्रेमप्रति मानिसमा विश्वास जगाउन चाहन्छ, उसको जीवनमा बलिदानको गुण हुन्छ ।

एजाज अशरफः मिडियाले मोदीको जुन तस्विर पेश गरे, त्यसबारे तपाईंको भनाई के छ ?

आशीष नन्दीः नेताको छवि निर्माणमा मिडियाको ठूलो भूमिका भारतमा मात्र होइन, बरु अन्य देशमा पनि छ । यसका लागि समकालीन समयका नेताहरु, भारतमा मोदी, टर्कीमा रिसेप तैयीप एर्दोगान, फिलिपिन्समा रोड्रिगो दुतेर्ते र अमेरिकामा डोनाल्ड ट्रम्पलाई हेरे पुग्छ । 

एजाज अशरफः यीन नागरिकको दिमाग कब्जा गर्न मिडियाको प्रयोग गरेका छन् भन्ने विश्वास गर्नुहुन्छ ?

आशीष नन्दीः हो । म भारतीयताको विचारबारे एउटा किताबको सम्पादन गरिरहेको छु । मलाई थाहा छ कि यो किताब भारतका सबै भाषामा अनुवाद भयो भने पनि यसलाई धेरै पढिने छैन । भारतीयताको विचार जनताको चेतनामा समाहित हुन निक्कै लामो समय लाग्नेछ किनकि जनतालाई गलत किताबहरुमार्फत् अन्य खालको विचार दिइदैंछ ।

एजाज अशरफः के भारतीयताको अवधारण बदलिएिको छ ?

आशीष नन्दीः सामान्यतया ‘नेशन–स्टेट’को विचारलाई बल दिने काम मध्यम वर्गले गर्छ । तिनमा हेर्नु भयो भने भारतीयताको विचार बदलिएको पाउनुहुन्छ । राजनीतिलाई मर्दवादी बनाउनु, राज्यवादी बनाउनु र निरन्तर प्रगतिको विचारलाई स्वीकार्य बनाउने मध्यम वर्गले नै हो । भारतीय जनता प्रगति स्थायी मात्र होइन, एउटै दिशा अघि बढ्ने रेखाजस्तो सोच्छन् । आज यस्तो प्रगति सम्भव छैन । हामी यस्तो अवस्थामा पुगेका छौं, जसले अन्तत, हाम्रो संसारलाई नष्ट गरिदिनेछ ।

एजाज अशरफः राष्ट्रिय पहिचान के हो ? पहिले के भनिन्थ्यो भने भारतीय पहिचान जाति, धर्म, धार्मिक र भाषिक पहिचानभन्दा माथि हुन्छ । अहिले आएर भारतीय पहिचान भनेको हिन्दू हुनु भएको छ । यसबारे बताइदिनुस् न ।

आशीष नन्दीः तपाईंले भन्नु भएको चेतना पहिलेदेखि विद्यमान थियो । तर पहिले यो दबेर बसेको थियो, अवचेतनमा । बहुसंख्यकलाई विगतमा आफू बहुसंख्यक भएको लाग्थ्यो । तर अब उसलाई के लाग्छ भने ऊ पीडित बहुसंख्यक हो । राजनीतिशास्त्री मेरा मित्र डीएल सेठलाई एक पटक आरएसएसले आफ्ना सदस्यलाई सम्बोधन गर्न बोलाएको थियो । सेठ भारतको वरिष्ठ राजनीतिक विचारमध्य गनिन्छन् । सेठले तिनलाई के भने भन्दा, तपाईंंहरुले पहिले बहुसंख्यकको रुपमा कुरा गर्न सिक्नुस्, त्यसपछि तपाईंमाझ आएर आफ्नो कुरा राख्नेछु । पीडित भावना बहुसंख्यकभित्र प्रवेश गरिरहेको छ । यसअघि बहुसंख्यकमा जुन आत्मविश्वास थियो त्यो अहिले छैन ।

यस भावनापछाडि मध्यम–वर्ग छ । तिनको संख्या र प्रभाव बढेको छ तर आत्मविश्वास कमजोर भएको छ । अब यो वर्ग आफूबारे मात्र सोच्दैन । मध्यम वर्गको काम समाजलाई विचार दिनु हो । मध्यम वर्गले कुन विचार गलत छ भन्ने निर्णय गर्छ । यसमा विश्वविद्यालय र स्कुलको भूमिका हुन्छ तर अहिले मध्यम वर्गले उसको विचार मिडियाबाट प्राप्त गरिरहेको छ ।

एजाज अशरफः मध्यम वर्गको जीवनमा अनिश्चितताको भावना बढेकाले उसको चेतनामाथि असर परिरहेको त होइन ?

आशीष नन्दीः हो कुरा यही हो । मध्यम वर्ग आफू वरिपरि घटिरहेको चिजमा ख्याल राखिराखेको छैन । उदाहरणको लागि पंजाबलाई हेर्नुस् । पंजाब अनायास भारतको ‘ड्रग राजधानी’ भएको होइन । पंजाबबाहिर मानिस अझै पनि राज्यमा ‘हरित क्रान्ति’ जारी छ भन्ने विश्वास गर्छन् । तर वास्तवमा पंजाबको किसान आफ्नो जग्गा उच्च रकममा बेचेर आफ्ना सन्तानलाई अष्ट्रेलियाजस्ता देश पढाउन पठाइरहेका छन् ।

एजाज अशरफः तिनको आनीबानीमा भएको परिवर्तनले के देखाउँछ ?

आशीष नन्दीः आधुनिकतातर्फ अघि बढिरहेको समाजमा किसान बर्बाद भइरहेका छन् । आधुनिकतातर्फ अघि बढिरहेको समाजको एक अलिखित नियम के हुन्छ भने कृषिमा निर्भर मानिस कम हँुदै जान्छन् । आधुनिकरणको प्रक्रियामा कृषिमा निर्भर मानिस कम जान्छन् ।

सन् १९९५ देखि आजसम्म तीन लाख किसानले आत्महत्या गरिसके । जापानलाई अपवाद मान्ने हो भने सभ्य समाजमा यो असह्य कुरा हो । 

एजाज अशरफः भाजपाले भोपालमा साध्वी प्रज्ञालाई लोकसभाको उमेद्वार बनाएको थियो । यसबारेमा तपाईं के धारणा के छ ?

आशीष नन्दीः भाजपासँग आवद्धहरु आफूलाई लागेको कुरा निष्फिक्री भन्न थालेका छन् । यसमा एक हिसाबले भाजपाको आत्मविश्वास देखिन्छ । उसले मतदातालाई विश्वासमा लिएको छ ।

एजाज अशरफः भाजपाको जीतपछि, उ ठीक रहेछ भन्ने सन्देश जाँदैन ?

आशीष नन्दीः हो, यसमा कुनै शंका छैन । भाजपालाई अब एउटै डर न्यायपालिकासँग मात्रै देखिन्छ ।

एजाज अशरफः कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले चुनावमा हारेपछि महात्मा गान्धीका हत्यारा विचारधाराले जित्यो भने । के तपाईंलाई गान्धी र नेहरुले हारेको जस्तो लाग्छ ?

आशीष नन्दीः गान्धीको हार भएको छैन भन्ने मेरो धारणा छ । तर नेहरुबारेमा म त्यति  विश्वासका साथ भन्न सक्दिनँ । किनकि उनले गान्धीको विचारलाई हारेको सम्भयताको रुमानी सपना भनेर खारेज गरिदिएका थिए । (त्यो भनेको गान्धीको स्वायत्त ग्रामीण अर्थव्यवस्थाको विचार) । नेहरुको प्रगतिवादी विचार आज सम्पूर्ण भारतीय जनता पछ्याउछन् । तर समानताको कुरा नभएको नेहरुको आर्थिक कार्यक्रम त अहिले भाजपाको कार्यक्रममा पनि छँदैन ।

एजाज अशरफः तर आरएसएसभन्दा फरक नेहरु भारतको विविधतापूर्ण संस्कृतिको प्रशंसक थिए ।

आशीष नन्दीः उनी कुन हद सम्म विविधताका प्रशंसक थिए भनेर म बुझ्न सकेको छैन । मेरो विश्वासमा उनी विविधतालाई सजावटको गहनाको रुपमा हेर्थे । गान्धी अलग थिए । गान्धीलाई मार्न सकिँदैन । उनको हत्या हुँदा पनि उनी जिउँदो छन् । उनी आफूलाई चिन्दथे । सन् १९४८ जनवरी २० मा गान्धीको हत्याको षड्यन्त्रकारीमध्यका मदनलाल पाहवाले उनीमाथि बम फ्याँकेका थिए । त्यसपछि पनि उनले अतिरिक्त सुरक्षा लिन अस्वीकार गरिदिए । गान्धीलाई जति न्यूनिकरण गर्दा पनि उनी हाम्रो समाजमा लुकेको मानक बनिरहनेछन् । गान्धीवादी मुल्यलाई नरुचाउँदा नरुचाउँदै पनि आरएसएसले त्यसलाई ग्रहण गरेको छ । यहाँसम्म कि पहावा पनि पछि गान्धीवादी बनेका थिए ।

साभार : रातो पाटी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*