रविन्द्र अधिकारीको चढेको हेलिकप्टर दुर्घटना मौसमको खराबीःआयोग

११ असार २०७६, बुधबार २२:१७

फाईल फोटो

काठमाडौं- तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम भएको सरकारद्वारा गठित छानविन आयोगले निष्कर्ष निकालेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाइएको समितिको प्रारम्भिक प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ।

पर्यटनमन्त्री अधिकारीसहित सातजना सवार हेलिकप्टर विसं २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित तारेढुङ्गा भन्ने सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो।

उक्त दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेगरी पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*