बाटो

१० असार २०७६, मंगलवार २२:५५

घर–आँगनबाट
निस्कने केही बाटाहरु छन् ।

एउटा बाटो बिहानै
निस्कन्छ गाईगोठसम्म
गोबर सोहोर्छ
गाई दुहुन्छ
मोही पार्छ ।

अर्को बाटो
निस्कन्छ खेतसम्म
बिहानभर हलो जोत्छ
डल्ल फुटाउँछ
मकै छर्छ
र सन्दर बनाउँछ पृथ्वी ।

एउटा
अर्को बाटो हतार–हतार
कुखररा खोरसम्म,
अन्डा पार्छ
चल्ला कोरल्छ
र जित्छ सेकेन्ड–सेकेन्ड आयुमा जिन्दगी ।

एउटा
अलिक फराकिलो बाटो
जुनचाहिँ सिधै जाडिन्छ मूलबाटोसँग
र पुग्छ घनघोर जंगल,
सहर–बजार,
मेनपावर कम्पनी,
सरकारी कार्यालय,
कतार, मलेसिया……..

यसरी घरबाट निस्कने
बाटोहरुको पुग्ने एक–एक ठेगान हुन्छ
र हिँडिरहन्छन् निरन्तर निरन्तर……।

उता दरबारबाट पनि निस्किन्छन् केही
बाटाहरु
तर, तिनीहरु कहाँ पुग्छन् ?
कसकसलाई भेट्छन् ?
र के–के कुरा गर्छन ?
कसैलाई थाहा हुँदैन ।

इतिहास साक्षी छ
कि
दरबारबाट निस्कने बाटाहरु
अत्यन्तै छोटा र
खण्डहर हुन्छन् दरबारझैं ।

सुन्दर कुरुप
तस्वीर विजय महर्जन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*