प्रधानमन्त्रीको निर्देशनमा रेशम चौधरीको खुट्टामा लगाईएको नेल हटाईयो

७ असार २०७६, शनिबार १८:३९

तस्वीर सामाजिक सञ्जाल

काठमाण्डौं- राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाईएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि हटार्ईएको छ । ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ वीरमा अस्पताल भर्ना गर्दा शैय्यामै नेलले बाँधेका थिए।

अस्पतालमा रहँदा नेल लगाउनु मानवअधिकार विरुद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले बताएका छन् । सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको शुक्रबार प्रहरीले जानकारी दिएको थियो।
चौधरीलाई नेलसहित अस्पतालमा भर्ना भएको तस्बिर सार्वजनिक भएसँगै सामाजिक संजालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।

यसैबीच समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । उनले सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न माग गरेका थिए ।

चौधरीलाई भेटेको तस्बिर सार्वजनिक गर्दै बाबुरामले फेसबुकमा सरकारको यो हर्कतप्रति आपत्ति जनाएका हुन्। उनले सरकारले उपचारका लागि अस्पतालमा राख्दा खिया लागेको नेलले बाँधेर लडाएको भन्दै आपत्ति जनाएका हुन्।

‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र नियमसंगत हो ?’ बाबुरामले प्रश्न गरेका छन्, ‘आज सत्तामा बस्नेहरुले हिजोको गोल घरको यातना कति छिट्टै बिर्सेका हुन् ?यो हर्कत तुरुन्त बन्द गर!

त्यसैगरी रेशम चौधरीमाथि गरिएको दुव्यवहारको विरोध गर्दै प्रगतिशील साहित्यकार आहुतीले स्टाटस लेखेका छन्– ‘हाम्रो समयको दलाल पुँजीवादी तथा हिन्दू उच्च जातवादी राज्यको कुरूप हर्कतको फोटो दस्तावेज हो यो, जसलाई न्यायप्रेमी नागरिकले कहिल्यै बिर्सने छैनन् ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*