विद्यार्थीको स्वास्थ्य परीक्षणगर्न प्राधानाध्यापकहरु प्रतिबद्ध

५ असार २०७६, बिहीबार २१:४३

बर्दिया-बढैयाताल गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयका प्राधानाध्यापकहरु आफ्नो विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्न प्रतिबद्ध रहेका छन् । बढैयाताल गाउँपालिका भित्रका सामुुदायिक बिद्यालयहरुमा स्वास्थ्य परीक्षण पहलको लागि बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्राधानाध्यापकहरुसँग बिहीबार छलफल गरिएको छ ।

बढैयाताल गाउँपालिका वडा नं.३ मा रहेको भवानी माविका प्राधानाध्यापक धर्मप्रसाद शर्माले आफ्नोे विद्यालयमा विद्यार्थीहरु समय–समयमा बेहोश हुने गरेको जानकारी दिए । ‘समय–समयमा स्वास्थ्य परिक्षण भए विद्यार्थी के कारणले बिरामी भएको भन्ने बारे थाहा हुन्छ’, प्रधानाध्यापक शर्माले भने ।

बैठकमा बढैयाताल गाउँपालिका शिक्षा शाखाका प्रमुख बिष्णु ढकालले बिधार्थीहरु स्वस्थ्य रहे मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने भएकोले बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखासँग शिक्षा शाखाले समन्वय र सहकार्यगरि अगाडि बढ्ने जानकारी दिए । छलफलमा एनएसडब्लुए कञ्चनपुरका क्षमता विकास अधिकृत देवराज बडुले विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा नियमित पढाईको वातावरण सृजना हुने बारे जानकारी गराए ।

सामुुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण नहुने सवालमा विद्यार्थीको स्वास्थ्य परीक्षण भए नभएको वस्तुस्थिति बारे अनुसन्धान समेत गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले जानकारी दिए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण नभएको बारे सवाल उठाउदै आएको छ ।

नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनछैन भनी मौलिक हककोरुपमा उल्लेख गरिएको छ । राष्ट्रिय शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरुमा अनिवार्यरुपमा प्राथमिक स्वास्थ्य उपचार गरिनुपर्ने ब्यवस्था ल्याएको छ । यसै अन्तर्गत रहेर सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सामुुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण हुनु पर्ने भन्दै बर्दिया जिल्लामा रहेर शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरुसँग सहकार्यगरि सो सवाललाई उठान गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*