काठमाडौँ– केरुङ रेलमार्गको डिपिआर तयारगर्ने बारे नेपाली टोली चीन प्रस्थान

२ असार २०७६, सोमबार १७:४७

फाईल फोटो

काठमाडौँ– केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बारे छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना रेल्वे बैठमा रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल हुनेछ

रेल विभागका इन्जिनियर किरण कार्कीका अनुसार रेलमार्गको डिपिआरलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । चिनियाँ पक्षको निमन्त्रणामा नै नेपाली टोली त्यसतर्फ गएको इन्जिनियर कार्कीको भनाइ छ । प्रतिनिधिमण्डलले चीनको नेशनल रेल्वे अथोरिटीका पदाधिकारीसँग द्विपक्षीय छलफल गर्नेछ ।

चिनियाँ पक्षले रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको पनि एक वर्ष पूरा भइसकेको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्ग प्रशस्त भएको छ । गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा सहभागी भएका चिनियाँ अधिकारीले समेत उक्त रेलमार्ग निर्माणका विषयमा उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए ।

डीपीआर बनाउन लाग्ने खर्च कसले ब्यहोर्ने भनेर दुई चरणमा भएका सचिवस्तरीय बैठकले टुंगो लगाउन सकेको छैन । यो पटक चीनसँग हुने वार्तामा डीपीआरमा कसले खर्च गर्ने र कसरी काम अघि बढाउने भन्नेबारे ठोस निर्णय हुने मनत्रालयका एक अधिकारीले बताए । काठमाडौं–केरुङ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने तथा करीब रु तीन खर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

चीनमा रहँदा नेपाली र चिनियाँ अधिकारीबीच लगानी र निर्माण ढाँचालगायत विषयमा छलफल हुनेछ । प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको ६ महिनासम्म पनि आयोजानका बारेमा खासै प्रगति हुन सकेको थिएन ।
रेल विभागले प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भए लगत्तै रेलमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको प्रतिक्रिया दिएको थियो । नियमित छलफल तथा उच्च राजनीतिक प्रतिबद्धतापछि मात्रै आयोजना कुन प्रक्रिया र ढाँचामा निर्माण हुने भन्ने निक्र्योल हुनेछ ।

काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेटिएको छ । यस्तै सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*