पिउने पानीको अभाव रहेको शिक्षक तथा विद्यार्थीको गुनासो

२८ जेष्ठ २०७६, मंगलवार २२:३३

बाँके- बालबालिका तथा किशोरीहरुको लागि बजेट विनियोजनमा बालबालिका तथा किशोरीसँग समन्वय र सहकार्य गरि योजना निर्माण गर्ने खजुरा गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जको सहयोग तथा स्याक नेपालद्धारा सञ्चालित बालिका संरक्षण परियोजनाको खजुरा गाउँपालिकाले संयुक्त अनुगमन गरेको छ ।

सो अनुगमन परियोजना सञ्चालन भएको खजुरा गाउँपालिकाको वडा नं. ३ मा अवस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा बाल संरक्षण संरचना, भयरहित सिकाई, बाल संरक्षण नीति, आचार संहिता र गुनासो सुनुवाई संयन्त्रको प्रभावबारे छलफल गरिएको थियो ।

अनुगमनको क्रममा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा प्राधानाध्यापक केदारनाथ पाठकले विगतको तुलनामा परियोजना सञ्चालन भएपछि पढाई, अनुशासन, भयरहित वातावरणमा बालमैत्री सिकाई भएको र बालबालिका तथा किशोरीहरुले आपनो मनका कुराहरु शिक्षिकसँग राख्ने र कतिपयले गुनासो पेटिकामा राख्ने गरेको जानकारी दिए । साथै उहाँले आफ्नो विद्यालयमा पिउँने पानीको अभाव र बाउण्डरी(पर्खाल)को अभाव रहेकोमा यसलाई गाउँपालिकाले ध्यानदिनु पर्ने खजुरा गाउँपालिकाका उपाध्यक्ष समक्ष अनुरोध समेत गरेका छन् ।

सोहीक्रममा खजुरा गाउँपालिकाको वडा नं.३मा रहेको रामजानकी किशोरी सञ्जालसँगपनि भेटघाट गरेको छ । किशोरी सञ्जालका सदस्यहरुले बालविवाह न्यूनिकरणमा स्थानीय सरकारले पनि चासो दिनु पर्ने बताईन् । खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बालबिवाह सम्बन्धी कुनै पनि उजुरी बारेमा आफुलाई जानकारी दिन अनुरोध गरिन् र उजुरी आएपछि सो समस्या समाधानको लागि सम्बन्धित सरोकारवाला निकायलाई तत्काल ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत जनाईन् ।

संयुक्त अनुगमनमा खजुरा गाउँपालिकाका उपाध्यक्ष, शारदा विश्वकर्मा, महिला तथा बालबालिका शाखाका सुशिला न्यौपाने,स्याक नेपाल, बाँकेका टिमलिडर नेत्रकला शाही, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे र कार्यक्रम संयोजक शेषकान्त शर्मा लगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*