बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य तालिमको पुनःताजगी तालिमको समापन

२८ बैशाख २०७६, शनिबार १८:३७

प्रमेश बादे,धनुषा-
देशमै पहिलो पटक प्रदेश नम्बर २ को मिथिला नगरपालिकाको स्वास्थ्यकर्मीहरुका लागि दिएको बालबालिका तथा किशोरीकिशोरी मानसिक स्वास्थ्य तालिमको पुनःताजगी तालिम शनिवार समापन भएको छ ।

यस अघि सात दिन तालिम लिएका स्वास्थ्यकर्मीहरुले मिथिला नगरपालिकाका विद्यालय तथा समुदायहरुमा तनाब, चिन्ता रुपान्तरित विकार, क्षारेरोग, उदासिनता, व्यवहारजन्य समस्या, विकासात्मक समस्या, आफैलाई हानी गर्ने व्यवहार, आत्महत्या, बालविवाह, तथा लागूपदार्थ दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गरेका थिए । सचेतना कार्यक्रममा समस्याहरुका लक्षण, कारणहरु र रोकथामका बारेमा छलफल गर्नुका साथै मनोशिक्षा तथा बिमारीलाई प्रेषण(रिफरल) कहाँ गर्ने भन्ने बारे जानकारी गराईएको थियो ।

पुनःताजगी तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले आ–आफ्ना अनुभवहरु सुनाउनुका साथै विशिष्ट किसिमका केसहरु पनि छलफल गरेका थिए । यस अलवा केससँग सम्बन्धित रहेर पहिला सिकेका आवश्यक स्याहार र अभ्यास, सञ्चार सीप, मनोविमर्श, मनोशिक्षा, विकासात्मक र व्यवहारीक समस्या, छारेरोग, चिन्ता र तनावसँग सम्बन्धित समस्या तथा त्यसको व्यवस्थापन, अटिज्म, रुपान्तरित विकार, उदासिनता, आफैलाई हानी गर्ने कार्य , आत्महत्या, साईकोसिस (कडा खालका मानसिक रोग), लागुपदार्थको प्रयोग, बालबालिका तथा किशोरकिशोरी सम्बन्धित अन्य सामाजिक समस्या तथा सवालहरु बालबिवाह, यौन दुव्र्यवहार बारेमा पुनरावृत्ति छलफल गरिएको थियो । तालिममा तनाब व्यवस्थापन गर्न थेराप्यूटिक खेलहरु पनि खेलाईएको थियो ।

तालिम पश्चात आफूमा परिवर्तन हुनुका साथै आफ्नै घरपरिवार तथा बिमारीहरुमा शारीरिक समस्याहरु पनि मानसिक समस्यासँग सम्बन्धित रहेर आएको छ कि भनेर बालबालिका तथा किशोरकिशोरी साथै तिनका अभिभावकहरुसँग सोध्ने गरेको नक्टाझिज स्वास्थ्य चौकीका अनमी प्रियंका भारती रजकले बताए ।

विद्यालयमा सचेतना कार्यक्रम गरे पछि किशोरकिशोरीहरु कसैलाई भन्न नसकेका पिर, चिन्ताजन्य समस्याहरु लिएर आईरहेको हरिहरपुर स्वास्थ्य चौकीका प्रमुख रिंकु यादबले परिचर्चा न्यूज डटकमलाई बताए ।

चुरे(तुलसी) स्वास्थ्य चौकीका प्रमुख ज्योती श्रेष्ठ भन्छिन् ,‘ हामीले ७ दिनको तालिम लिएर पनि समुदायबाट कोही आएको थिएन जब विद्यालयमा सचेतना कार्यक्रमहरु चलायौं तब किशोरकिशोरीहरु क्षारेरोग, मनोसामाजिक तथा मानसिक समस्याहरु लिएर स्वास्थ्य चौकी आउने क्रम बढ्दो छ । यसका लागि हामीले किशोरकिशोरीले भनेका कुराहरुलाई गोप्य रहने भनी आश्वस्त बनायौं र उनीहरुसँगै छलफल गरेर समस्याका उपायहरु निकाल्ने कुरा भन्यौं ।’

स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै पुनःताजगी तालिम कार्यक्रमका अध्यक्ष तथा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतो भन्छन् ,‘ देशमै पहिलो पटक नमूना कक्षा छलफल भएको थियो तपाँईहरुका लागि । यदि तपाँईहरुले बालबालिका किशोरकिशोरी मानसिक स्वास्थ्य तालिमलाई सफल बनाउनु हुन्छ भने यसको श्रेय पनि तपाँईहरुलाई जान्छ फेरी सफल हुन सकेन भने यसको भागीदार नी तपाँई तथा मिथिला नगरपालिका हुन्छ । काठमाण्डौंबाट पनि चिकित्सक, मनोविदहरु आएका छन् ,अन्य संघसस्थाहरुले लगानी गरेका छन् ,तपाँईहरुले पनि यसमा आफ्नो समय लगानी गर्नु भएको छ । गम्भीर भएर लाग्न जरुरी छ यद्यपी मानसिक समस्या भेग छ । कहाँ कति खेर कुन बालबालिका, कशोरकिशोरीहरुलाई समस्या पर्छ, कतिखेर उनीहरुले आत्महत्या गर्छ कुरा गम्भीर छ । समुदाय जानु होस् आमा समूह, महिला स्वास्थ्य स्वयंम सेविका सबैलाई जानकारी गराउनु होस् यसका लागि नगरपालिकाले सँधै सहयोग गर्न तयार छ ।’

तीन दिन सम्म चलेको पुनःताजगी तालिमको आयोजना प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा सिविन–नेपाल, यूनिसेफको सहयोगमा भएको थियो भने तालिमको सहजिकरण कान्ति बाल अस्पतालका मनोचिकित्सक अरुन राज कुँवर, मनोचिकित्मक गुन्जन ध्वँजु र क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले ले सहजिकरण गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*