एक महिने बेत बाँस तालिम समापन

१२ बैशाख २०७६, बिहीबार २१:५५

राजु तामाङ, सर्लाही-
सर्लाहीको हरिवनमा चैत ११ गतेबाट आयोजित एक महिने बेत बाँस व्यावसायिक सीपमुलक तालिमको बिहीबार समापन गरिएको छ। विपन्न आदिवासी जनजातिको आर्थिक अवस्था सुधार्ने उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तालिमको आयोजना गरिएको हो। उक्त तालिममा २९ जना आदिवासी किशोरी र महिलाहरुको सहभागीता थियो। तालिमको आज दिउँसो हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित आदिवासी जनजाति महासङ्घ सर्लाहीको भवनमा महासङ्घका जिल्ला अध्यक्ष वुद्धिबहादुर सुनुवारको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य लुङ्गेलीले कामविहिन भई दिनभरको समय त्यसै गुजार्ने गृहणी महिलाहरुका लागि यस्ता किसिमको तालिम निकै उपयोगी हुने र युवा बिदेश पलायन हुने अवस्थालाई यस्ले केही मात्रामा भए पनि रोक्ने धारणा राखेकी छिन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोविन्द माझीले प्रतिष्ठानमा प्रयाप्त बजेट नभए पनि प्रतिष्ठानले आदिवासी जनजातिको आर्थिक अवस्थामा सुधार ल्याउन देशका १० स्थानमा यस्ता किसिमका तालिमको आयोजना गरेको बताए । यस्तै जनजाति अगुवा सुरेन्द्र लामाले घुर्कौलीलाई नमूना गाउँ बनाएर घरवास सञ्चालनको तयारीमा जुटिरहेका बेला बाहिरबाट आउने पर्यटकलाई बेत बाँसका उत्पादन उपहारका रुपमा प्रदान गरी यसबाट आम्दानी गर्न सकिने बताए ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्द माझी, हरिवन नगरपालिकाकी कार्यपालिका सदस्य सजनी स्याङतान, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष वुद्धिमान घलान, महासंघ लालबन्दी नगर अध्यक्ष ईन्द्र बल, समाजसेवी भरत कुमार कार्की, लगायतले तालिमका सहभागीहरुलाई स्थानीय उत्पादनलाई देश विदेशमा पुय्राउन व्यवसायिक भएर लाग्न आग्रह गर्नुभयो। तालिमका सहभागीहरुलाई प्रशिक्षक सन्तबहादुर भुजेलले बेद बाँसका विभिन्न घरेलु सामाग्री बनाउन सिकाएको आयोजकले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*