मिथिला नगरपालिकामा बालबालिका तथा किशोरकिशोर मानसिक स्वास्थ्य सम्बन्धि तालिम शुरु

२९ फाल्गुन २०७५, बुधबार १६:३२

प्रमेश बादे, धनुषा
बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि तालिम देशमै दोस्रो पटक प्रदेश नम्बर २ को मिथिला नगरपालिका वार्ड १० को कुष्ठरोग स्वास्थ्य रोग अस्पतालको हलमा आज बुधवार देखि भैरहेको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुका बरिष्ठ स्वास्थय प्रशासक डा. रामराज पन्थीले जनाएको छ । यस अघि यही तालिम जनकपुर अस्पतालका चिकित्सकहरुलाई प्रदान गरिएका थियो।

७ दिन सम्म सञ्चालन हुने तालिममा मिथिला नगरपालिकाका स्वास्थ्य संयोजक, हेल्थ असिस्टेन्ट, अहेव, एएनएम लगाएतको सहभागीता रहेको छ । यस तालिमले मानसिक स्वास्थ्यको क्षेत्रमा खड्किरहेको विशेषज्ञ सेवाको अभावलाई स्थानीयस्तरमा उपलब्ध जनशक्तिको क्षमता विकास मार्फत पुरा गर्ने लक्ष्य लिएको छ ।

तालिम पश्चात बालबालिका तथा किशोरकिशोरीका मानसिक स्वास्थ्य प्रर्वद्धन, समस्याको समयमा नै पहिचान, उचित व्यवस्थापन र आवश्यकता अनुसार प्रेषण सेवा स्थानीयस्तरमा नै उपलब्ध हुने अपेक्षा गरिएको डा. पन्थीले परिचर्चा न्युज डटकमलाई बताए ।

प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक बिजय कुमार झाले तालिममा सिकेका कुरालाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको हीतमा सहभागीहरुलाई लागू गर्न अभिप्रेरित गरेका छन् । त्यस्तै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा प्रत्येक वर्ष बजेट छुट्याउन, बाल विकास केन्द्रको स्थापना गर्न साथै यसै सवालमा स्थानीय तहबाट निरन्तर कार्य गर्न मिथिला नगरपालिकासँग जोडदार माग समेत गरेका छन् त्यसका लागि स्वास्थ्य निर्देशनालयबाट जस्तो सुकै प्रतिबद्धता जनाएका छन् भने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु, कान्तिबाल अस्पताल, यूनिसेफ, सिविन नेपाल लगायतका सहयोगी निकायहरु प्रति आभार समेत व्यक्त गरेका छन् ।

‘आमाको गर्भमा नै बालबालिको विकास र वृद्धिमा असर पुग्ने भएकोले आमालाई सकारात्मक वातावरण प्रदान गर्नु पर्ने साथै आमा र बालकमा लगानी गर्नु पर्दछ’, तारा लामा बस्नेत उप प्रमुख मिथिला नगरपालिका भन्छन् —‘ मिथिला नगरपालिकामा पनि बालबालिका तथा किशोरकिशोरीहरु लागुपदार्थ दुव्र्यसन, बालबिवाह, बालश्रम, आदिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्दै गएको छ र किशोरकिशोरीहरुको पनि आत्महत्या गर्ने संख्या बढ्दो छ जसले हामीलाई दुखित बनाएको छ ।’

त्यस्तै बाल विकास केन्द्रको लागि मिथिला नगरपालिकाले बजेट विनियोजन गरिसकेको जानकारी गराउनका साथै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको काम गर्ने प्रतिबद्धता गर्नुका साथै यस क्षेत्रमा सम्बन्धित सरोकारवालाहरुलाई हातेमालो गर्न उप प्रमुख बस्नेतले आग्रह समेत गरेका छन् ।

मनोचिकित्सक अरुण राज कुँवर, मनोचिकित्सक गुन्जन ध्वोँज, डा. रामराज पन्थी, क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले तालिमको सहजिकरण गरिरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*