उदासी अधरहरु

१४ फाल्गुन २०७५, मंगलवार २२:५२

कविता

मेरा हाँसोहरु
निदाएका छन् अचेल
आँशुहरु बिसाएका छन्
थोर धाक्रेले धाक्रो बिसाए झैं ।

उर्लदैनंन अचेल
आँशु पनि उन्मत्त भएर
बर्खेको भेल झैं
कसैको भावनाको
अन्त्येष्टि हुँदा पनि ।

बन डढेको सबैले देख्छ
तर मन डढेको
कसैले न देख्दो रहेछ ।
त्यसैले होला
अचेल मेरा परेलीहरु रुष्ठ छन्
अधरहरुको उद्यानमा फक्रिन छाडे
अचेल मुस्कानका मुनाका कोपिलाहरु ।

केवल सुकिरहेछ
अँगेनाको बिस्कुन झैं
मेरा खुशीका बगरहरु निराशाका खडेरीमा
केवल एकोहोरो पर्खाई छ
भार्याले खसमको प्रतिक्षा गरे झैं
मधुमासको झरी बनी कहिले रुझाउला
मेरा ती सुकेका खुशीका बगरहरु ।

राजबाबु श्रेष्ठ ‘सागर’
गौशाला नगरपालिका–१, महोत्तरी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*