होस्टलमा बालबालिका : उचित कि अनुचित ?

११ फाल्गुन २०७५, शनिबार ०७:४४

कति आमाबुवा बाध्यतामा र कति लहडमा आफ्ना बालबच्चालाई होस्टलमा राख्ने गर्छन् । अक्सर श्रीमान्-श्रीमती कामकाजी छन् । कति आमाबुवा विदेशमा पनि छन् । उनीहरु आफ्नो घरमा बस्न पाउँदैनन् । छोराछोरीसँग खेल्ने, रमाउने फुर्सद पनि छैन ।

अर्कोतिर धेरै दम्पती अहिले एकल परिवारमा छन् । संयुक्त परिवारबाट अलग भएर शहरमा आश्रय लिएका छन् । यस्ता अनेक वाध्यता र अवस्थाको कारण धेरै दम्पतीले आफ्ना बालबच्चालाई होस्टलमा पुर्‍याइदिएका छन् । बच्चाको खानपान, स्यहारसुसार सबै कुरा अर्काको हातमा सुम्पिएका छन् । निश्चित पैसा दिएर दम्पतीहरु ‘छोराछोरी हुर्काउने तनाव’बाट मुक्त भएका छन् ।

हो, धेरै दम्पतीलाई आफैले जन्माएको छोराछोरी हुकाउने कुरा तनाव भएको छ । झन्झटिलो भएको छ । बोझिलो भएको छ ।

कति अभिभावक त यस्ता पनि छन्, जो फुर्सदिला भएर पनि छोराछोरीलाई होस्टलमा राखिदिएका छन् । कतिले देखासेखीमा त कतिले बालबच्चालाई ‘तह लगाउन’ होस्टल पठाउने गरेका छन् ।

अभिभावकको यस्तै वाध्यता, प्रवृत्ति र लहडले निजी विद्यालयहरु होस्टल संचालन गर्ने होडबाजीमा लागेको छ । अहिले धेरैजसो निजी विद्यालयले होस्टलको व्यवस्था गरेको छ । यसलाई उनीहरु ‘अतिरिक्त सुविधा’ अन्र्तगत अथ्र्याउने गर्छन् ।

अभिभावकलाई केही प्रश्न

अब यहाँ आइपुगेपछि अभिभावकसँग केही प्रश्न गरौं ।

के तपाईंलाई आफ्ना बालबच्चासँग बस्ने अनुकुलता वा फुर्सद नभएको हो ?

के तपाईंले बालबच्चाको पालनपोषण राम्ररी हुन्छ भनेर होस्टलमा पठाउनुभएको हो ?

के तपाईंले बालबच्चालाई ‘तह लगाउन’ होस्टलमा भर्ना गरिदिनुभएको हो ?

के तपाईंलाई आफ्नो बालबच्चा हुर्काउने काम झन्झटिलो भएको हो ?

उल्लेखितमध्ये कुनैपनि प्रश्नमा तपाईंले स्विकारोक्तीको टाउको हल्लाउन सक्नुहुन्छ । तर, बालबच्चालाई होस्टलमा राख्दा त्यसको असर के हुनसक्छ भन्ने कुरा सोच्नुभएको छ ? हुनसक्छ, तपाईं कसैको प्रभावमा परेर यस्तो काममा उक्सिनुभयो । वा आफ्नै परिस्थितीले गर्दा बालबच्चालाई होस्टलमा भर्ना गराउन बाध्य हुनुभयो । तर, यी सबै काम तपाईंको लागि हितमा नहुन सक्छ ।

बालबच्चा हुर्काउनु पनि झन्झट ?

अहिले त तपाईं बालबच्चा स्यहार्ने, हुर्काउने झन्झटबाट मुक्त हुनुभयो । उनीहरुलाई ख्वाउन, खेलाउन, पढाउन परेन । लुगा धोइदिनु परेन । ब्रस गराउने, नुहाइदिने केही काम गरिदिनुपरेन । बस्, मासिक शुल्क बुझाएपछि सबै झन्झटबाट तपाईं मुक्त हुनुभयो ।

तर, यसले कति भयानक असर गर्छ भन्ने कुरामा तपाईं घोत्लिनुभएन । मूल कमजोरी यही भयो ।

तपाईंलाई आफ्नै कोखको बच्चा हुर्काउन किन झन्झट ? किन असहज ?

आफ्नो बच्चा जन्माइसकेपछि उसलाई उचित वातावरणमा हुर्काउने, पालनपोषण गर्ने, शिक्षादिक्षा दिने दायित्व आमाबुवाको हो । बच्चालाई जन्माएर उनीहरुलाई गलत ढंगले हुर्काउनु वा उचित स्यहार सुसार नगर्नु भनेको तपाईंको कमजोरी हो ।

होस्टल बालमैत्री हुन्छ ?

कमजोरी किनभने, बालबच्चाका लागि उपयुक्त ठाउँ होइन होस्टल । व्यवसायिक प्रयोजनले खुलेका यी होस्टल बालमैत्री हुँदैन पनि । यस्ता होस्टलमा उनीहरु उन्मुक्त खेल्न, रमाउन, कुरा गर्न सक्दैन । किनभने उनीहरु त्यहाँ चौबिसै घण्टा निगरानीमा हुन्छन् । उनीहरुमाथि अनेक हस्तक्षेप र नियन्त्रण हुन्छ । अझ अनुशासनको नाममा बालबालिकालाई यसरी बाँध्ने गरिन्छ, जो अदृश्य कारागार जस्तै हो ।

खासमा भन्ने हो भने, बालबालिकालाई होस्टलमा त्यसरी हुर्कने अनुकुलता हुँदैन, जो उनीहरुलाई आवश्यक हुन्छ । उनीहरु बच्चा हुन् । बालशुलभ चञ्चलता हुन्छ । उत्सुकता हुन्छ । यस्तै चञ्चलता र उत्सुकताले गर्दा उनीहरुलाई केही न केही गर्न उक्साउँछ ।

यसलाई हामी ‘चकचक गरेको’ भन्छौं । यस्तो ‘चकचक’ले नै बच्चाको शारीरिक तथा मानसिक विकास समूचित ढंगले हुनमा सहयोग गर्छ । तर, जब बालबालिकालाई अर्काको आश्रयमा जिम्मा लगाइन्छ, तब उनीहरुलाई यी सबै गर्न बन्देज लगाइन्छ । निषेध गरिन्छ । उनीहरु अनुशासनको नाममा रोबोट जस्तै हुनपुग्छन् ।

आमाबुवाको स्नेह र स्पर्शबाट किन बिमुख ?

साना बालबच्चाका लागि होस्टल उपयुक्त ठाउँ होइन ।

किनभने यतिबेला उनीहरुलाई आफ्नै आमाबुवाको सामिप्य चाहिन्छ । आमाबुवाको न्यानो स्पर्श चाहिन्छ । यो उमेर उनीहरु होस्टलमा खुम्चिएर बस्ने होइन, उन्मुक्त भएर आफ्नै घर-आँगनमा खेल्ने हो ।

बच्चालाई आफ्नो आमाबुवाको आत्मिय स्पर्श चाहिन्छ । आमाबुवाको अगाडि उनीहरु जति खुसी हुन्छन्, जति रमाउँछन्, जति स्वतन्त्र महसुष गर्छन्, जति सुरक्षित अनुभव गर्छन्, अरुको अगाडि त्यस्तो गर्न सक्दैनन् ।

बुवाआमाको सामुन्ने उनीहरु निर्धक्कसाथ सबैकुरा गर्न सक्छन् । तर, अरुको निगरानीमा उनीहरुले आफैलाई खुम्चाउँछन् । मन लागेको कुरा पनि गर्दैनन् । देखावटी मात्र गर्छन् । उनीहरु त्यस उमेरमा जस्तो हुनुपर्ने हो, त्यस्तो हुँदैनन् ।

छोराछोरीसँग भावनात्मक दुरी

अर्कोतिर सानै उमेरमा यसरी बालबालिकालाई होस्टल राखेपछि आमाबुवासँग उनीहरुको दुरी बढ्छ । यो भौतिक मात्र होइन, भावनात्मक दुरी पनि हो । जति जति उनीहरुको समय होस्टलमा बित्दै जान्छ, आमाबुवासँगको भावनात्मक सम्बन्ध पनि खुकुलो हुँदै जान्छ । अन्ततः आमाबुवा र छोराछोरीबीच जुन किसिममो भावनात्मक अट्याचमेन्ट हुनुपर्ने हो, त्यो हुँदैन ।

बालबच्चा आमाबाबुवाट विमुख हुँदै गएपछि घर-परिवारसँग उनीहरुको घनिष्ठता टुट्छ । जब उनीहरु हुर्कन्छन्, आमाबुवासँग उनीहरु एकाकार हुन सक्दैनन् । आफुलाई आमाबुवाले कसरी हुर्काए, कसरी पढाए, कसरी पालनपोषण गरे भन्ने कुरा उनीहरुले अनुभूत गर्नै पाउँदैनन् । अन्ततः उनीहरुलाई आफ्नै आमाबुवा पनि पराई लाग्न सक्छ ।

घरः एक खुला विश्वविद्यालय

बालबच्चाले विद्यालयमा मात्र सबै कुरा सिक्दैनन् । होस्टलमा राखेर मात्र उनीहरु बौद्धिक वा शिक्षित हुँदैनन् । खासमा त घर परिवार नै उनीहरुको लागि खुला र विशाल विद्यालय हो । ज्ञान-भण्डार हो । घरमा बालबालिकाले धेरै कुरा बुझ्ने, सिक्ने, अनुभव गर्ने अवसर पाउँछन् ।

बालबच्चालाई होस्टल राखेपछि बच्चाहरु परिवारबाट बिच्छेद हुन्छन् । परिवारबाट बिच्छेद हुनु भनेको जीवनमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर गुमाउनु पनि हो । उनीहरुले आफ्नो पारिवारिक संस्कार, व्यवस्था आदि सिक्न पाउँदैनन् । बुझ्न पाउँदैनन् ।

खासमा आमाबुवासँग हुर्कन पाउँदा, घरभित्र बस्न पाउँदा बालबच्चाले थाहै नपाई धेरै कुरा सिकिरहेका हुन्छन्, जो निकै जीवनोपयोगी पनि हुन्छ । घर व्यवहारका कुरा, खानपानका कुरा, लुगाफटाको कुरा, सरसफाईको कुरा, बगैंचाको कुरा बच्चाले घरबाटै सिक्ने हो ।

आफन्त, नातागोता केलाउने तथा उनीहरुसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि सिक्छन् । तर, जब उनीहरुलाई परिवारबाट बिमुख बनाइन्छ, उनीहरुले जीवनमा सिक्नैपर्ने थुप्रै कुरा सिक्न पाउँदैनन् ।

त्यसैले बालबालिकालाई होस्टलमा राख्नु बाध्यता भएपनि त्यसको असर भने निकै नराम्रो हुन्छ । सकेसम्म बालबालिकालाई आमाबुवाले आफैसँग राख्ने, पारिवारिक वातावरणमा हुर्काउने गर्नुपर्छ । बालबालिकालाई आफ्ना आमाबुवाको माया, ममता, स्पर्शको खाँचो हुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*