किन हुँदैन भ्रष्टाचारको शल्यक्रिया ?

१० फाल्गुन २०७५, शुक्रबार १५:०१

गोकर्णराज बन्जाडे

अमेरिकामा बाराक ओबामाले राष्ट्रपति चुनाव लड्दा स्रोत नखुलेका कारण ठूलो आर्थिक सहयोग गर्न चाहनेको चन्दा अस्वीकार गरे । बरु सामान्य नागरिकसँग पाँच डलर, दस डलर पनि चन्दा मागे । त्यस्तै रकमबाट पारदर्शी रूपमा खर्च गरी चुनावसमेत जिते । हिलारी क्लिन्टनले आफू विदेशमन्त्री रहेको समयमा कार्यालयको कामका लागि आफ्नो निजी इमेल सर्भर प्रयोग गरी पत्राचार गरेको विषय सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा उनको पराजयको एक प्रमुख कारण बन्यो । मुलुकको राजनीतिमा प्रवेश गर्नसक्ने ससाना विकृति र कमजोरीलाई नजरअन्दाज गरियो भने त्यसले पार्ने प्रभाव महँगो पर्न सक्छ ।

अहिलेको नेपालमा यी र यस्ता विषयवस्तु नगण्य लाग्छन् । टिकट किन्न नेतालाई बुझाइने रकम र चुनावमा गरिने अपरिमित खर्च र तिनका स्रोत सम्बन्धमा उठाइने प्रश्न असान्दर्भिक मानिन्छन् । जसरी पनि पैसा कमाउनु र सत्ताशक्ति प्राप्त गरेर त्यसमा टिकिरहनु नेपालका राजनीतिक भनिने शक्तिहरूको एकमात्र अभीष्ट रहन्छ । ‘जोगी हुन कोही राजनीति गर्दैन’ भन्ने थेगो प्रायः नेताले प्रयोग गर्छन् । अरूले गरेको भ्रष्टाचार कसैलाई मन पर्दैन । तर आफ्नो व्यक्तिगत समृद्धिको एक मात्र आधार यसैलाई रोज्छन् । नेपालमा जुनसुकै तह र क्षेत्रमा भ्रष्टाचार व्यावहारिक र संस्थागत लाग्छन् । यसको विरोध गर्ने मानिस संस्था, समाज र उसको परिवारका लागिसमेत बोझजस्तो बन्छ । ऊ संस्थाबाट खेदिइन्छ, समाजबाट एक्लिन्छ र घरपरिवारमा समेत अटाउँदैन । यस्तो समाजबाट ऊ कता जाने त ? या त उसमा विद्रोहको आँट आउनुपर्‍यो या त समाजअनुकूल आफूलाई समायोजित गर्नुपर्‍यो । सुशासनका लागि आवाज उठाउने डा. गोविन्द केसीजस्ता विरुद्ध सिंगो राज्य संयन्त्र नै लाग्छ । यिनलाई पागल भन्नेहरू यही समाजमा शानसौकतका साथ हिँडिरहेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ ले नेपालमा भ्रष्टाचार घट्नुको साटो बढेको देखाएको छ । कुुल १८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापनअनुसार ३१ अंक प्राप्त गरी नेपाल भ्रष्टाचारजन्य मुलुकको १२४ औं स्थानमा पुगेको छ । भ्रष्टाचारको प्रमुख कारण अस्थिर र कमजोर सरकार बताइरहँदा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नाराले निर्वाचन जितेर दुईतिहाइ बहुमतसहितको बलियो र स्थिर सरकार बनेपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार घट्न नसकेको तथ्य सर्वेक्षणले देखाएको हो । व्यवसायमा घुस, सार्वजनिक पद र अधिकार दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको टीआईको प्रतिवेदनले देखाएको छ । नेपालमा माथिदेखि तलसम्मै भ्रष्टाचारले समाज यति जेलिएको छ कि यसभित्र पसेपछि मानिस निस्कन असम्भवजस्तै छ ।

“भ्रष्टाचारसम्बन्धी घटना प्रकाशमा आउँदा ठूला माछाको नाम जोडिएपछि सकेसम्म घटनालाई गुपचुपमै राखिन्छ । त्यही घटनामा सानातिनालाई फसाएर ठूलालाई सुनपानी छर्किइन्छ ।

राज्यका सबै संयन्त्रमा आफ्नो व्यक्तिगत समृद्धिको एक मात्र आधार भ्रष्टाचार बनाएकाहरूको हालिमुहाली छ । दण्डहीनता यसरी मौलाएको छ कि यहाँ एकजना साँच्चिकै भ्रष्टलाई कानुुनी दायरामा ल्याउने हो भने लहरो तान्दा पहरो गर्जने अवस्था छ । यसले गर्दा केही साना माछालाई समातेजस्तो गरेर भ्रष्टाचार नियन्त्रणका खातिर स्थापित संस्थाले आफ्नो अस्तित्व जीवित राखी जागिर मात्र धानेको प्रतीत हुन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रणका कुरा जति गरे पनि आफूमा पूर्ण शुद्धता कायम नगरी वा यसमा संलग्नता नभएको व्यक्तित्व नेतृत्वमा स्थापित नगरी सम्भव छैन । वरिपरि भ्रष्टाचारले डुङडुङ्ती गन्हाएकाहरू राखेर भ्रष्टको मुखै नहेर्ने सार्वजनिक मजाकजस्तै भएको छ । माथि र माथिकाबाटै कारबाही सुरु नगरेसम्म भ्रष्टाचार नियन्त्रणको कुरा गाईजात्रे व्यंग्यजस्तै हो । समृद्धिको नारा घन्किरहँदा यति कुरा बिर्सनु हुुँुुदैन कि भ्रष्टाचार नियन्त्रण नगरे कुनै पनि मुलुक समृद्धितर्फ होइन, बरु चरम अशान्ति, अराजकता र आतंकको खाडलमा जाकिन्छ ।

अहिलेको विश्वमा शान्ति र समृद्धिको प्रमुख बाधक तथा हिंसा, अशान्ति र अराजकताको कारक भ्रष्टाचार रहेको छ । यसले उत्पन्न गरेको दानवीय आतंकबाट पार पाउन थुप्रै देश यसप्रति निर्मम रूपमा प्रस्तुत भइरहेका छन् । मुलुकको नेतृत्व गरेका विभिन्न मुलुकका दर्जनौं नेता यस आरोपमा छानबिन भई जेलको हावासमेत खाँदैछन् ।

आजको समुन्नत राष्ट्र दक्षिण कोरिया करिब आधा शताब्दीअघिसम्म नेपालकै स्तरमा थियो । यसको समृद्धिको यात्रा यहाँसम्म आइपुग्दा उसले भ्रष्टाचारविरुद्ध कठोर कदम उठाएको छ । भ्रष्टाचार आरोपमा चारजना राष्ट्रपतिलाई जेल कोच्ने आँट गरेको छ, जसमध्ये सन् २००९ मा पूर्वराष्ट्रपति रो मु–ह्युनले भ्रष्टाचारको मुद्दा लागेपछि लज्जाबोधले आत्महत्या गरे भने राष्ट्रपति पार्क गुन हेले त पदमै बहाल अवस्थाबाट जेलयात्रा गर्नुपर्‍यो । कोरिया भ्रष्टाचारविरुद्ध निर्मम छ र त आज समृद्ध छ । भ्रष्टाचार र समृद्धि एकसाथ रहनै सक्दैनन् । राज्यमा उपलब्ध साधनस्रोतको दुरुपयोग नै भ्रष्टाचार हो, यसको समुचित उपयोगविना मुलुक कसरी समृद्ध बन्छ ?       

नेपाली युवाका लागि रोजगारको प्रमुख गन्तव्य मलेसियाको राजनीतिमा साठी वर्षभन्दा बढी समय सक्रिय रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकमाथि गत जुलाइमा भ्रष्टाचारको मुद्दा लाग्यो र उनी पक्राउ परे । उनीमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप छ । त्यहाँको अनुसन्धान निकायले रजाककी पत्नीका गरगहना, बहुमूल्य सामान र नगद गरी २७ करोड डलरबराबरको सम्पत्तिसमेत नियन्त्रणमा लियो । 

उनका आफन्त, नातागोता तथा उनको कार्यकालमा हर्ताकर्ता बनेका माथिसमेत छानबिन भयो । यो एउटा समान्य विषय मात्रै होइन, शक्तिको बलमा राज्यको साधन र स्रोतमाथि कुन हदसम्मको बदमासी गरिन्छ भन्ने उदाहरण पनि हो । जसरी पूर्वप्रधानमन्त्री समातिए त्यसले भने भ्रष्टाचारविरुद्धको लडाइँ त्यति सहज देखिँदैन ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमामाथि सन् २००९ देखि लागेको भ्रष्टाचारको आरोप २०१८ मा पुष्टि भई पदच्युत भए । यसै शृंखलामा बंगलादेशमा दस वर्ष प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकी खालिदा जियालाई भ्रष्टाचार आरोपमा जेल पठाइयो । ब्राजिलका पूर्वराष्ट्रपति लुला डी सिल्भालाई पनि भ्रष्टाचार आरोपमा त्यहाँको सर्वोच्च अदालतले बाह्र वर्षको कैद सजाय सुनायो ।

 पेरूका पूर्वराष्ट्रपति पाब्लोमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ । भ्रष्टाचार अभियोगमा पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई यसै वर्ष दस वर्ष कैद तोकी जेल हालिएको छ । हैटीका राष्ट्रपति जिन क्लाउडलाई आठ अर्ब डलर हिनामिनाको आरोपमा सन् २०११ मा आठ वर्षका लागि जेल पठाइयो ।

नेपालमा पनि भ्रष्टाचार नियन्त्रणका लागि स्थापित विभिन्न निकाय, संस्था र सक्रिय व्यक्ति वा समूह त छन् । तर विभिन्न समयमा भ्रष्टाचारका भयंकर काण्डहरू प्रकाशमा आए पनि जब ठूला व्यक्तिको संलग्नता पुष्टि हुने अवस्था आउँछ, तब ती विषयलाई यसै गुपचुप गरी तामेलीमा राखिन्छ या साना भनिएकालाई बलि चढाएर विषय टुंग्याइन्छ । 

यसबाट फाइदा लिने राजनीतिक व्यक्तिहरू शुद्ध नै रहनु नेपालमा स्वाभाविक मानिन्छ । यस्ता तमाम उदाहरण भेटिन्छन्, जसमा भ्रष्टाचारसम्बन्धी घटना प्रकाशमा आउँदा ठूला माछाको नाम जोडिएपछि सकेसम्म घटनालाई गुपचुपमै राखिन्छ नत्र सानातिनालाई फसाएर ठूलालाई सुनपानी छर्किइन्छ ।

आफू प्रधानन्यायाधीश भएदेखि नै भ्रष्टाचारका मुद्दालाई प्राथमिकता दिएकै कारण सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि १७ वैशाख २०७४ मा संसद्मा दर्ता गरिएको महाभियोग प्रस्ताव आपसमा केही कुरा भएपछि फिर्ता लिइयो भनिन्छ । त्यहाँ केके भएको हो ?     

   यस रहस्यको उद्घाटन होला नहोला प्रतीक्षाकै विषय छ । अहिले पनि जब एनसेलको करछली घटनामा न्यायालयको दृढताको सर्वत्र प्रशंसा भइरहँदा कतिपय नेताका मनमा ठोकिएको ढ्यांग्रो विद्रोहको धम्कीको रूपमा बज्दैछ भन्ने चर्चा पनि सुनिँदैछ । हिजो माओवादी लडाकुको अर्बौं रकम अपचलनको विषय सबैभन्दा जोडतोडका साथ उठाउने र अपचलन गर्नेहरूबीचको एकता र सहकार्य आज असाध्यै गठिलो र कसिलो देखिन्छ । अघिपछि आपसमा खुब लड्ने, राष्ट्रहितका पक्षमा सितिमिति नमिल्ने राजनीतिक दल तथा नेता सत्ता र कमिसनका खेलमा अन्तर्यमै आश्चर्यजनक एकता जनाउँछन् ।

एक साँझ चिनियाँ यात्री ह्वेन साङ मगध महामन्त्री चाणक्यलाई भेट्न उनको निवास पुग्दा चाणक्य बत्ती बालेर आफ्नै सुरमा केही लेखपढ गर्दै थिए । एकछिनपछि उनले बलिरहेको बत्ती निभाई अर्को बत्ती बालेर साङको स्वागत गरे । यो देखेर अचम्मित हुँदै साङले यसको अर्थ सोध्दा चाणक्यले जवाफ दिएछन्, ‘अघिसम्म म राज्यको खर्चबाट बत्ती बालेर राज्यकै काम गर्दै थिएँ, अहिले तपाईंसँग व्यक्तिगत काममा छु, यसमा राज्यको खर्च गर्नु अपराध हो ।’ यस्तो आदर्श नेतृत्व थियो र त प्राचीन मगध साम्राज्य समृद्ध थियो । अहिलेको हाम्रो देशमा जसरी पनि सत्तामा पुग्ने र राज्यकोषको दुरुपयोग गर्नु राजनीतिकर्मीको उद्देश्य रहेको पाइन्छ । सरकारी साधन स्रोतमा परिवारको समेत रवाफ गरिमामय मानिन्छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारी निवासमा खाना बनाउने कामदार नभएको बताउँदै राज्यकोषको दुरुपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोप पूर्वप्रधानमन्त्री पत्नी सारा नेतन्याहुुमाथि लागेको छ । नेपालमा कुनै पनि उच्चपदस्थ व्यक्तिको परिवार र उसका नातागोताको समेत राज्यकोषमा हालिमुहालीमाथि उठाइने प्रश्नको कुनै जवाफ आउँदैन । सरकारी निवासमा गरिने भोजभतेर र वंशीय भेलासमेतका कुरा गरिसाध्य छैन ।

चाणक्य भन्छन्, ‘जुन देशमा राजा व्यापारी हुन्छ, त्यहाँका प्रजा भिखारी हुन्छन् ।’ नेपालका नयाँ राजा (नेता) हरू पनि पहिलेका राजाजस्तै व्यापारमा संलग्न छन् । राजनीतिकर्मीले व्यापार गर्नु र व्यापारीले राजनीति गर्नु राज्यकोष रित्याउने र जनतालाई भिखारी बनाउने प्रपञ्च मात्र हो । यहाँ पुस्तौंदेखि व्यापार व्यवसाय गरेको घरानाभन्दा केही दशक राजनीतिमा सक्रिय रहेकाको आर्थिक हैसियत उच्च र जीवनस्तर विलासितापूर्ण छ । यसले उद्यमी तथा व्यवसायीको समेत राजनीतिमा रुचि अस्वाभाविक रूपमा बढ्दो छ । यहाँ व्यापारी, ठेकेदार र राजनीतिक नेताबीच फरक छुट्ट्याउन मुस्किल छ ।

अन्त्यमा, सरकारको रूपमा मुलुकको नेतृत्व गर्ने राजनीतिक दलहरूले नै हो । दलका नेताको उद्देश्य सत्ता प्राप्त गर्नु र अकुत सम्पत्ति आर्जन गर्नु मात्र देखिएकाले अघिपछि झगडा गरे पनि कमिसनका खेल र यसलाई लुकाउन भएको सहमति सर्वसाधारणले पत्तै पाउँदैनन् । थाहा पाए पनि आफूले समर्थन गरेको दल र नेताविरुद्ध बोल्ने आँट कसैको रहँदैन ।

 भ्रष्टाचार नियन्त्रणको प्रयास राजनीतिक तहबाट हुनुपर्छ । गलत दिशातर्फ गइरहेको राजनीतिलाई सही ठाउँमा ल्याउन नागरिक समाज एउटै कित्तामा उभिनुपर्छ । भ्रष्टाचार समाजको ऐंजेरु हो, यहीं उम्रिन्छ, पलाउँछ र हुर्किन्छ । अनि यसले सम्पूर्ण नैतिक मूल्यमान्यतालाई धराशयी बनाउँछ र समाजलाई ध्वस्त पार्छ । यो समृद्धिको दुस्मन हो । भ्रष्टाचारी जतिसुकै नजिकको नाता वा जतिसुकै ठूला नेता, जोसुकै हुन्, त्यसविरुद्ध निर्मम हुनैपर्छ ।

साभार :अन्नपूर्ण पोष्ट
 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*