उखुको लाथ्रा सहित उखु किसानद्वारा हरिवनमा विरोध प्रदर्शन

६ फाल्गुन २०७५, सोमबार १९:३०

सन्जु कर्ण, सर्लाही-
सर्लाही सहित तीन जिल्लाका उखु किसानले उखुको लाथ्रा सहित पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक समिती र उखु किसान हकहित समिती सहित हरिवनमा भेला भएका सर्लाही, महोत्तरी, रौतहटका उखु किसानले सरकारी अनुदानको रकम माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

आर्थिक वर्ष २०७४/०७५ को सरकारले उखु किसानलाई अनुदानबापत दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा र चिनी उधोगले दिनुपर्ने ५ रुपैयाँ अहिलेसम्म पनि नदिएकाले आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘किसानसँग सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत भएकाले अब किसानले जस्तोसुकै मूल्य चुकाएर भुक्तानी लिएरै छोड्ने’ किसान अगुवा राजकुमार उप्रेतीले भने— ‘ हातमा उखुको लाक्रो बोकेर प्रदर्शनमा उत्रिएका किसानले एक वर्ष बितिसक्दा समेत उखुको भुक्तानी नपाएकाले आन्दोलनको कुनै विकल्प छैन ।’

किसानहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्दै राजमार्ग बन्द गर्ने समेत कार्यक्रम तय गरेका छन् । उखु बिक्री गरेको रकम लिन उखु किसान सहज रुपमा सरकारसँग प्रस्तुत हुँदा नसुनेकाले अब कडा रुपमा सडकमा आउने सर्लाही क्षेत्र ३ क बाट निर्वा्चित प्रदेश संसद डिल्ली उप्रेतीले बताए ।

गत बैशाख ४ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई प्रतिक्विन्टल उखुको चिनी उद्योगीबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय भएको थियो । चिनी उधोगले ५ रुपैयाँ बाँकी राखेर किसानलाई भुक्तानी गरे पनि सरकारले दिनुपर्ने ६५ रुपैयाँ २८ पैसा अझै पाउन सकेका छैनन् ।

गत वर्ष भारतीय उखु क्रसिङ भएकाले अनुदान कसरी दिने भन्ने अन्यौलका कारण किसानले अनुदानको रकम पाउन नसेको सरकारी पक्षको दाबी छ । आन्दोलनको आज पहिलो दिन उखुको लाथ्रा सहित हजारौं उखु किसान विरोध प्रदर्शनमा उत्रिएका थिए । विरोध कार्यक्रम अन्र्तगत भोली दिउसो १ बजे देखि २ बजे सम्म र पर्सी दिउसो १ बजे देखि ३ बजे सम्म चक्काजाम गर्ने किसान नेताहरुले बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*