बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

२८ माघ २०७५, सोमबार ११:०५

कविता
उज्यालोको मुटु
छलकपटका तीखा तीरहरुले रोपेर
एकहूल बाँदरहरु
अँध्यारो सुरुङ खनिरहेछ
सुरुङको प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर
नाङ्गा पैतलालाई हिंड्न सिकाई
बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरुमा
विद्यालय भत्काएर केवल नाराहरु
पर्खाल–पर्खालहरुमा लेख्न सिकाई रहेछ ।

उज्यालोको पैतालामा
मूर्खताको अँध्यारो काँडाहरु उमारेर
वर्तमानलाई रगताम्मे पारेर कुल्चेर
संवृद्धिका ढाडहरुमा सिस्नोपानीले कुट्दै
सपनाका हात र खुट्टाहरुमा हतकडी लगाउँदै
अधिनायकवादका बनमाराहरु उमारी रहेछन् ।

नौरानमा
ब्रामणले राखिदिएको
बत्तीसल लक्षणले युक्त नाम
बाघचालको सिलौंटामा पिसिदैं
आज कर्णालीको बगर–बगरहरुमा
आफैंले फोडेको टुक्रिएको प्रत्येक गिट्टीहरुमा
र उठेका आफ्नै हत्केलाको प्रत्येक ठेलाहरुमा
मेरो आफ्नै अस्तित्वहुनुको नाम खोजिरहेछु ।

भन्न त भन्थे रे ब्रामणले
मेरो आमा र बालाई–
“तिम्रो छोरा राजा हुन्छ राजा”
हो म आज टुक्रिएको प्रत्येक गिट्टीहरुमा
आफ्नो राजगद्दी खोजिरहेछु
र मेरो ललाटबाट चुहिरहेको पसिनाको
प्रत्येक थोपा थोपाहरुमा
मेरो आदरणीय शहिदहरुको रगतको रङमा
मेरो देशको मानचित्र खोजिरहेछु ।

अनि छलकपटको
ईरेजरले मेटिएको मेरो आफ्नै देशको भूगोलमा
सपनाको आलो रगतमा शहिदहरुले टेकेका
संवृद्धिका डोबहरु खोजिरहेछु
कर्णालीका सपनाहरु खोजिरहेछु ।

खैं देख्दिन अचेल
बसेको आमसभा बिस्कुन सुक्ने सुकुलहरुमा
केवल संवृद्धिका सपनाहरु फिजारिएको छ
जून निदाउँछ फेरि ब्युझन्छ
तर संवृद्धिको सपनाहरु जूनको छाँयाले
कहिल्यै सुक्न सुकेन ।

सुकुलमा फिजारिएको
संवृद्धिका सपनाहरु सुक्न त
सुकुलको किनाराहुँदै घाम पो बग्नु पर्दो रहेछ
आज मेरै भविष्य हेर्ने बाजे र म
उही एउटै टुक्रिएको प्रत्येक गिट्टीहरुमा
आफू हुनुको अस्तित्व खोजिरहेछु
आफू हुनुको अस्तित्व खोजिरहेछु ।

राजबाबु श्रेष्ठ ‘सागर’
गौशला नगरपालिका वडा नम्बर–१, महोत्तरी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*