सर्लाहीमा उम्लीरहेको दुधले नुहाए मुसहर समुदायको कुलदेवता भुईया महराज

२३ माघ २०७५, बुधबार १०:१७

सर्लाही-
उम्लीरहेको दुधले नुहाए मुसहर समुदायको कुलदेवता भुईया महराज । धेरै जनाले यो कुरा सुन्दा झुठो जस्तो लागन सक्छ तर वास्तवमा तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर जातिमा अहिले पनि यो संस्कृति चलिरहेकोछ । भुईया महराजको अपटौनी पुजा तथा आउदो माघ १ गते बाट प्रत्येक साल भुईया दिवस मनाउने घोषणा कार्यक्रमको माननीय प्रदेश २ का अर्थ मन्त्री विजय यादवको मुख्य अतिथिमा तथा मिठु माझी मुसहरको अध्यक्षतामा तातो तातो दुधले नुहाई आफनो कुलदेवता भुईया महाराजको पुजाआजा हरिपुर नगरपालिका– ६ लक्ष्मीपुरमा गरेका थिए । मुसहर समुदायको कुलदेवता दिना–भद्री दुबै भाइले आफ्नो छातीले धक्का लगाउदा वाल सहित जमिनमा चिरा लाग्न गएको हुनाले उहाहरुलाई भुईया महाराजको रुपमा पुज्दै आईरहेको मान्यता पाईन्छ ।
मोरङ्ग देखी पर्सा सम्मको मुसहर समुदायको अगुवाहरुले आउदो माघ १ गतेबाट प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने घोषणा गरेका थिए । बाँचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज(दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन भुईया दिवस मनाउन लागेको सर्लाहीका पचुलाल माझी मुसहरले बताए ।

शक्त्तिहीनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर संघ तथा जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपालको आयोजनामा संचालन भएको यस कार्यक्रम मुसहर समुदायको उत्थान र विकास निम्ति कार्य गरेको अगुवा ६२ बर्षीय रामकेवल माझी र ६५ बर्षीय रामस्वरुप माझी मुसहरलाई सम्मान गरेका थिए ।

अर्थमन्त्री विजय यादवले यस कार्यक्रममा बोल्दै मुसहर समुदायको कुलदेवता भुईया महराज(दिनाभद्री) को जन्म स्थल लगायत मरौटी(मरेको स्थान), धरौटी (मृत शरिरलाई राखेको स्थान), जरौटी (दाहंसंसकार गरेको ठाउँ) नेपालको सप्तरीमा रहेको र त्यसको सरंक्षण, विकासका निम्ति १ करोडको योजना बनाएर पेश गरेको बताए ।

मोरङ्ग जिल्लाबाट आएका क्रृषिवंशी जनकल्याण संघका कलाकारहरुले गीत संगीत, नृत्यको मार्फत मुसहर समुदायको संस्कृति सहित मुसहर समुदायको वास्तविक जीवनलाई समेटी प्रस्तुती गरेका थिए ।

दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उहाहरुले सम्र्पुण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई जवरजस्ती एक रात रोकी शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अच्याचारी, सामन्ती सित लडी जित प्राप्त गरेका थिए । त्यसैले मुसहर समुदाय उहाँको कर्मलाई स्थापित गर्न नेपाल भरि नै माघ १ गते भुईया दिवस एकसाथ मनाउन नेपाल राष्ट्रिय मुसहर सघंका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले सबैलाई आग्रह गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*