घुस लिन्या र दिन्या दुवै दोषी

२७ पुष २०७५, शुक्रबार १०:५४

बुद्धिनारायण श्रेष्ठ

हिमाली क्षेत्रको स-साना भुरे-टाकुरे राज्यको सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहले आफ्नो देशको सीमा पूर्वतर्फ बढाइसकेपछि पश्चिमतर्फको भू-भाग पनि समाहित गर्न पहिले आफू आएकै क्षेत्र नुवाकोट पुगेका थिए। उनी त्यहाँ बिरामी परे। उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना भारदारलाई सुनाए। १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायणले १८३१ माघ १ गते देहावसान हुनुअगाडि बताएका कुरा उपदेश तथा पृथ्वीविचारको नामले जानिन्छ र त्यसलाई दिव्योपदेश भन्ने चलन पनि छ। उनका धेरै उपदेशहरूमध्ये घुुस विषयमा निम्न विवरण रहेको पाइन्छ।

राज्यले न्याय निसाफ राम्ररी हेर्ने गर्नुपर्छ। मुलुकमा कुनै पनि किसिमको अन्याय हुन दिनु हुँदैन। देशमा न्याय निसाफ बिगार्ने भनेको घुुसले नै हो भन्ने सिलसिलामा उनले भनेका थिए- ‘घुस् दिन्या र घुष षान्या, ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, इ राजा (राज्य) का महासतुर हुन्।’ पृथ्वीनारायणको विचारमा घुस लिने र दिने दुवै दोषी हुन्। यी दुवैथरी व्यक्ति राज्यको महाशत्रु हुन्। त्यसैले यी दुवैथरी व्यक्तिको जीउ-धन जफत गरी सर्वस्वहरण गरिएमा पनि कुनै पाप (अनुचित) लाग्ने छैन भन्ने बुझिन्छ। वास्तवमा घुसले नै इन्साफमा तल-माथि पार्न सक्छ र विवेक-बुद्धिलाई कुठाउँमा धकेल्छ। यसले समाजलाई नै विकृत बनाउँछ। यहाँ जिज्ञासा उठ्छ, के हाम्रो समाजमा घुस लिनेका साथै दिनेलाई पनि कार्बाही गरिएको छ !

दुई सय चौवालीस वर्षअघिको पृथ्वीविचार हिजोआजको आधुनिक जमानामा पनि त्यत्तिकै सान्दर्भिक छ। घुसको सञ्जालले नागरिक समाजलाई मात्रै होइन, तर राजनीतिक नेताहरूलाई पनि छोएको छ। केही दलका नेताहरू घुसका कारण जेल परेका थिए। व्यवस्थापिका संसद्को समानुपातिक सभासद्को छनोटलाई लिएर घुसको प्रकरण चलेको कुरा तिनै पार्टीका अन्य नेताहरूले प्रकाश पारेका छन्। घुस लिने र दिने विषयक प्रसंगमा यहाँ एउटा गतिलो प्रश्न उठेको छ- पृथ्वीविचारअनुसार वर्तमान कालमा के घुस दिने व्यक्तिलाई कार्बाही गरिएको छ ? के घुस ख्वाउने व्यक्ति पक्राउ परेका छन् ? यसबारे अलिपछि वर्णन गरौंला। त्यसभन्दा अघि घुस भनेको के हो ? भन्ने सम्बन्धमा थोरै चर्चा गर्नु सान्दर्भिक होला।

घुसको चर्चा गर्दा यसैसँग जोडिएको ‘भ्रष्टाचार’ शब्द पनि गाँसिन आइपुग्छ। विभिन्न नेपाली शब्दकोष पल्टाउँदा घुस भनेको अवैधरूपले काम गरिदिनाका लागि कर्मचारी (काम गरिदिने) लाई दिइने धनमाल भन्ने बुझिन्छ। भ्रष्टाचार भनेको नीति नियम आदिविरुद्धको आचरण, दूराचार, अनैतिक काम, अनुचित फाइदा उठाएको वा उठाउन लगाएको कामकाज भन्ने जानिन्छ। यसअनुसार घुस भन्नाले अवैध सम्पत्ति मानिन्छ र भ्रष्टाचार भनेको अनैतिक कार्य हो भन्ने बुझ्नुपर्ने हुन्छ।

यस परिभाषाअनुसार रकम-कलम लिएको ‘घुस’ र दिएको चाहिँ ‘भ्रष्टाचारी कामकाज’ भन्नुपर्ने हुन्छ। अड्डा, अदालत, संस्थान, कार्यालय, आयोग आदिमा अनियमित तरिकाले काम गरी अवैध कमाउ गर्ने कर्मचारी कामदारलाई ‘घुस्याहा’ भन्ने गरिएको छ। तर त्यही काम गराउन अनैतिक तरिकाले गुप्तरूपमा धनमाल दिने व्यक्तिलाई ‘भ्रष्टाचारी’ भन्ने गरिएको छैन। हाम्रो देशमा घुस खानेलाई कार्बाही गरिएको छ, तर खुवाउनेलाई अधिकांशतः केही गरिएको छैन। घुस खुवाउने व्यक्ति को हुन् ? भन्ने अक्सर प्रकाशमा आउने गरेको पाइँदैन। पृथ्वीनारायणका उपदेशअनुसार घुस दिने (दूराचारी व्यक्ति) लाई पत्ता लगाई कार्बाही गर्ने गरिएको भए समाजमा भ्रष्ट आचरण भएका व्यक्तिको संख्या घट्दै जाने थियो।       

खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीजस्ता पार्टीका नेतालाई भ्रष्टाचार मुद्दामा जेल सजाय दिइयो। तर तिनीहरूलाई भ्रष्टाचार गराउने अर्थात् धनमाल दिने व्यक्ति को थिए ?  भन्ने कुरो जनमानसले सुन्न पाएको छैन। दिनेले नदिई लिनेले घुस खान पाउँदैनन्, यो सत्य कुरा हो। मन्त्रीले सरकारी रकम कुम्ल्याएको भए अनियमित तरिकाले भौचर कागजात सदर गरी बैंक चेकमा ‘काउन्टर सिग्नेचर’ गर्ने को थिए र उनलाई किन कार्बाहीको दायरामा ल्याइँदैन ?   घुस एकतर्फी कार्य होइन। यो दुवैको सहमतिमा र विचौलियाको प्रायोजनमा हुनेगर्छ। तर दोस्रो पक्षका क-कसलाई दण्डित गरिएको छ ?  सुडान डाफर काण्डका भ्रष्टाचार प्रायोजन गर्ने शम्भु भारतीलाई २०६८ फागुन १ गते सजाय सुनाएबाहेक घुसखान प्रेरित गर्ने अर्थात् घुस दिने भ्रष्ट आचरणका सयौं अनैतिक व्यक्तिलाई कार्बाही गरिएको छैन।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले २०५९ साउन ३१ गते राजस्व सेवाका बाईस कर्मचारीलाई साहसिक र आत्म दृढताका साथ पक्राउ गरी दोषीलाई मुद्दा चलाए। तथापि अवैध तरिकाले कर्मचारीलाई धनमालरुपी घुस दिने व्यापारी व्यवसायी व्यक्तिको नाम आजसम्म सार्वजनिक भएको छैन। त्यस काण्डका घुस दिने व्यक्ति पनि पृथ्वीनारायणको उपदेशअनुसार पक्राउ परेको भए नेपालमा भ्रष्टाचारको मात्रा निकै कम भइसकेको हुने थियो।

२०७५ मंसिरमा सञ्चारमाध्यमले उजागर गरेअनुसार विभिन्न निकायमा धेरै भ्रष्टाचार मौलाएको बुझिन्छ। स्मार्ट लाइसेन्स तथा पोलिमर नोट छपाइ कार्यमा, सिक्टा सिँचाइ नहर निर्माण, एनसेल कर निर्धारणमा भ्रष्टाचार गरिएका समाचार बजारमा आएका छन्। भूकम्पपीडित घरबारविहीन नागरिकसँग पनि अधिकारीहरूले साढे सात करोड घुस खाएको समाचार गत वर्ष पुस १८ मा प्रकाशमा आएको थियो। वाइडबडी हवाईजहाज खरिदमा अर्बौं रकम घोटाला भएको शंका बजारमा आएको छ। हुँदाहुँदै नयाँ प्रधानसेनापतिले सेनामा पनि भ्रष्टाचार हुने गरेको रहेछ भन्ने उजागर गरेका छन्।

“पृथ्वीनारायणलाई शाहवंशीय राजाहरूको पितापुर्खाका हैसियतमा होइन नेपाल राष्ट्रको निर्माता, हिमाली राज्यको सीमा एकीकरण अभियन्ताका प्रतीकका रूपमा सम्झना गर्नुपर्छ।

न्यायिक क्षेत्रमा पनि भ्रष्टाचार हुने गरेको सम्बन्धमा यही पुस १५ गते संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश (प्रस्तावित) चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा हुने भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही पुस ९ गते राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा अन्य क्षेत्रमा भन्दा शैक्षिक क्षेत्र र संघीय मामिला मन्त्रालयअन्तर्गतका निकायमा बढी भ्रष्टाचार हुने उल्लेख गरिएको छ। यसबाट जताततै भ्रष्टाचार भएको र हुने गरेको गन्ध आएको छ।

भ्रष्टाचार हुनु र गर्नुमा पदाधिकारीको तजबिजी अधिकारले पनि भूमिका खेलेको पाइन्छ। उदाहरणार्थ, स्थानीय प्रशासन ऐन, २०२८ को ९(५) मा कुनै मालसमान बिक्री गर्दा अनुचित नाफा खाएको पाइएमा प्रमुख जिल्ला अधिकारीले एक हजार रुपैयाँसम्म जरिबाना र तीन महिनासम्म कैद गर्न वा दुवै सजाय गर्न सक्नेछन् भनिएको छ। अवैध धनमाल पाए प्रजिअले तीन दिनमात्र कैद गर्ने र नपाए पूरै तीन महिना कोचिदिन सक्ने प्रावधान छ। यस्तो स्वविवेकीय पद्धतिले पनि भ्रष्टाचार हुने र गर्ने वातावरण मौलाएको छ।

भ्रष्टाचार निवारण सहकार्यका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको एक अन्तर्राष्ट्रिय कार्यशालामा घुस र भ्रष्टाचार (ब्राइव एण्ड करप्सन) बारे निकै चर्चा-परिचर्चा चल्यो। भ्रष्टाचार अक्सर बन्द ढोकाभित्र हुने गर्छ। कसैलाई थाहा हुँदैन भ्रष्टाचार कहिले, कहाँ, अनि कुन पैमानामा हुन्छ। सानातिना भ्रष्टाचार सुनिने, देखिने, समातिने प्रकारका हुन्छन्। नीतिनिर्माण तहमा भएको भ्रष्टाचार अक्सर देखिने गरिँदैन। ‘करप्सन् परसेप्सन इन्डेक्स’ अनुसार नेपाल सन् २०१२ मा १३९ औं स्थानमा रहेकोमा सन् २०१३ मा ११६ औं, अनि २०१७ मा १ सय ८० देशमध्ये (१०० मा ३१ अंक प्राप्त गरी) १२२ औं नम्बरमा परेको छ।

यस अनुसार नेपालमा भ्रष्टाचारको मात्रा निकै रहेको बुझिन्छ। यिनै प्रसंगमा घुस्याहालाई अपराधीसरह व्यवहार गर्नुपर्छ र घुसको कारोबार गर्ने दुवै पक्षलाई त्यत्तिकै मात्रामा अपराधी ठहर गर्नुपर्छ भन्ने छलफलको प्रसंगमा पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको ‘घुस लिन्या र दिन्या दुवै दोषी हुन्’ भन्ने उपदेशात्मक अभिव्यक्ति आजका घडीमा पनि त्यत्तिकै सान्दर्भिक रहेको छ भन्ने प्रमाणित भएको छ।

भारतमा भ्रष्टाचार निर्मूल पार्ने क्रममा नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले रामलीला मैदानमा २०१३ डिसेम्बर २८ मा मुख्यमन्त्री पदको सपथग्रहण गर्नासाथ ‘आफू घुस लिने र दिनेको विरोधमा कडारूपमा प्रस्तुत हुने’ प्रतिवद्धता जनाएका थिए। यसरी प्रतिवद्धता जनाउँदा उनले एक छोरा र छोरीलाई आम जनतासमक्ष साक्षी राखेका थिए। केजरीवालले ‘घुस लिने र दिनेलाई कार्बाही गर्ने’ कुरो गरेको पृथ्वीनारायणकै शब्द सापटी लिएको हो कि भन्नेजस्तो झल्किन्छ।

घुस खाने व्यक्तिलाई हाम्रो देशमा एकाध वर्षको जेल सजाय र केही लाख रुपैयाँ जरिबाना गर्ने प्रचलन छ। तर चीनमा भ्रष्टाचार गर्ने लुलियाङ सहरका पूर्वमेयर झाङ झोङसेङलाई भ्रष्टाचारको अभियोगमा २०१८ अप्रिल १ मा मृत्युदण्डकोे सजाय सुनाइयो। यद्यपि भारतमा भ्रष्टाचारलाई मनोवैज्ञानिक तवरले घटाउन भाकरा-नङ्गाल ब्यारेज निर्माणको लागत एस्टिमेट गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले इन्जिनियरलाई कामको प्रोत्साहनस्वरूप कुल लागतमा दश प्रतिशत रकम थप गर्न लगाएका थिए।

यी सबै परिप्रेक्ष्यमा पृथ्वीनारायणको दृष्टिकोणलाई हामीले सम्मान तथा मनन गर्नुपर्छ। उनका उपदेशलाई सार्थक बनाउँदै भ्रष्टाचारजस्ता सबै प्रकारका सामाजिक विकृतिलाई निर्मूल पार्नुपर्छ। हामीले उनलाई शाहवंशीय राजाहरूको पितापुर्खाका हैसियतमा होइन, तर नेपाल राष्ट्रको निर्माता, हिमाली राज्यको सीमा एकीकरण अभियन्ताका प्रतीकका रूपमा सम्झना गर्नुपर्छ।

नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रतालाई कसरी बचाइराख्नुपर्छ भन्ने कुराका साथै भ्रष्टाचारको मात्रा निमिट्यान्न पार्न नसकिए पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘करप्सन् परसेप्सन इन्डेक्स’ को गिरेको दर्जालाई कसरी माथि उठाउन सकिन्छ भन्नेमा पृथ्वीनारायणको दिव्य विचार प्रयोग र उपयोग गरी सरकारी पदाधिकारीले कार्यान्वयनमा ल्याउनुपर्छ। भ्रष्टाचाररहित समाजको सिर्जना गर्न कोशिस गर्नुपर्छ।

साभार : अन्नपूर्ण पोष्ट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*